
काठमाडौँ – चितवनको माडीमा सीता-रामको भव्य मूर्ति बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनको प्रमुख विपक्षी नेपाली कांग्रेसले आलोचना गरेको छ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको उक्त निर्देशनप्रति तिखाे आलोचना गर्दै ट्विट गरेका छन्।
‘भक्त चेपाङको घर जलाउने अनि भगवान रामको मन्दिर बनाउने, द्वन्द्वात्मक भौतिकवादको यो कस्तो अध्यात्मिक अवतार?’, शर्माले ट्विटमा लेखेका छन्।
उनले अघि लेखेका छन्, ‘यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान राम कि घर जलेका भक्तले क्षमा देलान् ? कार्ल मार्क्सको आत्मालाई शान्ति मिल्ला कि मिशन लिम्पियाधुरालाई बल पुग्ला ?’
भगवान रामको वास्तविक जन्मभूमि नेपालमा रहेको दाबी गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार माडीका जनप्रतिनिधिलाई काठमाडौँमै बोलाएरु छलफल गरेका थिए।
माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकाललगायत स्थानीय जनप्रतिनिधिसँग बालुवाटारमा शनिबार साँझ भएको करिब दुई घण्टा लामो भेटघाटमा प्रधानमन्त्री ओलीले रामको जन्मभूमि माडीको अयोध्यामै पर्ने दोहोर्याउँदै रामनवमीमा भव्य मेलाको तयारी गर्न निर्देशन दिएको विषय बाहिर आएको छ।
प्रधानमन्त्री ओलीले रामको जन्मभूमि नेपालमा पर्ने विषयलाई प्रवर्द्धन गर्न स्थानीयस्तरबाटै प्रयास थाल्न पनि निर्देशन दिएका छन्।
केही समयअघि प्रधानमन्त्री ओलीले भारतले नक्कली अयोध्या खडा गरेको भन्दै राम नेपालमा जन्मिएको दाबी गरेका थिए।
प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिले भारत रुष्ट बनेको छ।