‘तमोर जलाशययुक्त आयोजना प्रभावित क्षेत्रमा जग्गा कारोबार रोक्काको असर नागरिकमा’

विराटनगर । लगानी बोर्डले ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त आयोजनाको प्रभावित क्षेत्रका वडानै तोकेर जग्गा कारोबार रोक्का गरेको विषयले प्रदेश सभामा उठेको छ ।

प्रदेश १ का सांसद बलबहादुर साम्सोहाङले आइतबार बसेको प्रदेश १ संसद बैठकमा प्रभावित स्थान भन्दा माथि सम्मका क्षेत्रको पनि जग्गा किन बेच रोक्का गरेकाले स्थानीय नागरिक समस्यामा परेको बताए ।

‘आयोजनाले भेट्ने स्थान भन्दा माथि सम्मको जग्गा किनबेचमा रोक्का भएको छ,’ सांसद साम्सोहाङले भने ‘यो विषयमा ध्यान दिएर प्रभावित क्षेत्रको मात्रै जग्गा कारोबार रोकेर अन्य क्षेत्रको फुकुवा गर्नुपर्छ ।’

उनले तमोर जलाशययुक्त आयोजनाको ६ सय मिटर भन्दा माथिको स्थानका नागरिकको पनि जग्गा कारोबार रोकिदा ती क्षेत्रका नागरिक समस्यामा परेको बताए ।

‘यो विषयमा संघिय सरकारको ध्यान जानुपर्यो, प्रभावनै नपर्ने क्षेत्रको जग्गा कारोबार रोक्दा सरकारको राजस्वमा प्रत्यक्ष प्रभाव परेको छ भने नागरिको जिवन यापनमा पनि असहजता आएको छ,’ सांसद साम्सोहाङले भने ।

आयोजना प्रभावित जिल्ला ताप्लेजुङ, पाँचथर र तेह्रथुमको ७ गाउँपालिकासहित तीन नगरपालिकाको २४ वटा वडामा सबै प्रकृतिका जग्गा कारोबार गर्न लगानी बोर्डले पत्रचार गर्दै रोक्का गर्न निर्देशन दिएको छ ।

आयोजनाले नभेट्ने भए पनि लगानी बोर्डको निर्णय र निर्देशनले २४ वडाका नागरिक बढी नागरिक प्रत्यक्ष प्र समस्यामा परेको सांसद साम्सोहाङको भनाई छ ।

ऊर्जा उत्पादनका हिसाबले यो आयोजना महत्त्वपूर्ण हुने प्राधिकरणले गरेको अध्ययनले देखाएको छ । आयोजनाले सुक्खायाममा १ हजार १ सय ११ गिगावाट आवर र वर्षायाममा १ हजार ८ सय ७२ गिगावाट विद्युत् उत्पादन गर्न सक्छ ।

यसैबिच सांसद साम्सोहाङले आर्थिक वर्ष ०७६÷०७७ को बजेटबाट संचालित बहुवर्षिय ठेक्का लागेका योजनाहरुको रकम निर्माण व्यावसायिहरुलाई असार मसान्तसम्ममा पनि भुक्तानी नगर्दा मजदुरहरु समस्यामा परेको बताए ।

‘समयमा ठेक्का लागे पनि योजनाको रकम भुक्तानी नहुँदा निर्माण व्यवसायीले रकम पाएका छैनन्,’ उनले भने ‘यसको असर मजदुरमा परेको छ, दिन रात काम गर्ने मजदुरलाई रकम निकासा नहुँदा व्यवसायीले पारिश्रमिक दिएका छैनन्, यसमा सरकारको ध्यान जानुपर्यो ।’

Back to top button