प्रदेश १ मा थप ३८ जना कोरोनामुक्त, कोरोना संक्रमितको संख्या ७ सय ३६

विराटनगर । प्रदेश १ मा मंगलबार थप ३८ जना कोरोनामुक्त भएका छन्। प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १९ जना डिस्चार्ज भएका छन्।

यस्तै, कोभिड १९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट १३ र पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पताल, गोठगाउँबाट ६ जना डिस्चार्ज भएकोे मन्त्रालयले जनाएको छ।

जिल्लागत आधारमा मोरङका १६, उदयपुरका १३, झापाका पाँच, सुनसरीका दुई र इलाम तथा पाँचथरका एक–एक जना कोरोनामुक्त भएका छन्। यससँगै प्रदेश १मा डिस्चार्ज हुनेको संख्या ६ सय ४२ पुगेको छ। यस्तै, प्रदेश १ मा ६ जना कोरोना संक्रमित थपिएका छन्, जसमा धनकुटाका तीन र झापा, सुनसरी तथा तेह्रथुमका एक–एक जना छन्।

मन्त्रालयका अनुसार धनकुटाको छथर जोरपाटीमा दुई पुरुष, सहिदभूमिमा एक पुरुष, झापाको शिवसताक्षीमा एक महिला, सुनसरीको भोक्राहामा एक पुरुष र तेह्रथुमको म्याङलुङमा एक पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ। यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ३६ पुगेको छ।

Back to top button