
काठमाडौं । भगवनाका रुपमा पुजिँदै आएका राम भारतको अयोध्याका हुन् भन्ने विश्वास गरिँदै आएको छ । विवाह पञ्चमीका अवसरमा भारतको अयोध्याबाट जन्ती नेपालको जनकपुर आएर ‘राम सीता’ विवाह गर्ने चलन आजपर्यन्त छ । नेपाल–भारत सांस्कृति सम्बन्ध रहँदै आएको छ ।
तर, सोमबार २०७ औं आदिकवि भानुभक्तको जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राम भारतीय नभएको दावी गरेका हुन् ।
भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाएका प्रधानमन्त्री ओलीले भने, ‘अहिले पनि ठानिरहेका छौं, ‘सीता’ भारतका राजकुमार रामलाई दियौं । भारतका होइन, अयोध्याका रामलाई दिएका हौं । अयोध्या भनेको वीरगञ्ज भन्दा पश्चिमपट्टीको ठोरी गाउँ हो ।
अयोध्या ठोरीमा र वाल्मिकी आश्रम पनि नेपालमा पर्ने दावी गर्दै प्रधानमन्त्री ओलीले दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डितजी रिडीको भएको र दशरथका छोरा राम पनि भारतीय नभएको जिकीर गरे । भारतको दावीअनुसारको अयोध्या भए त्यहाँका राजा विवाह गर्न कसरी जनकपुर आइपुगे भन्दै प्रश्न गरेका उनले अयोध्या ठोरीमै भएको पुन: दोहोर्याए ।