विराटनगरमा ५३ औं संस्करणको रथयात्रा स्थगित

विराटनगर । राधाकृष्ण मन्दिर समिति विराटनगरले हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकाल्दै आएको रथयात्राको ५३ औं संस्करण स्थगीत गरिएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण आगामी साउन २८ गतेको राधाकृष्ण रथयात्रा निकाल्न असमर्थ रहेको श्री राधाकृष्ण मन्दिर कार्यसमिति अध्यक्ष बाबुराजा ओझाले बताए । शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी मन्दिरले विश्व स्वास्थ्य संगठनको निर्देशन अनुसार सामाजिक दूरी कायम गर्नु पर्ने र भीडभाड गर्ने अवस्था नभएकाले रथयात्रा आयोजना गर्ने अवस्था नभएको बताए ।

उनले भने, ‘साउन १५ देखिको झुलन महोत्सव र रथयात्रा आयोजना गर्न समर्थन रह्यौं ।’ मन्दिर समितिले झुलन महोत्सव आन्तरिक रुपमा सम्पन्न गर्ने जनाएको छ ।

वि।स। १९८८ सालदेखि खटयात्राका रुपमा शुरु भएको ऐतिहासिक जात्रा २०२५ सालदेखि राधाकृष्ण रथयात्राका रुपमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलीपल्ट विराटनगरमा निकालिने गरिएकोे थियो ।

हरेक वर्ष विराटनगर १ को राधाकृष्ण मन्दिरबाट सुरु भई मेनरोड हुँदै महेन्द्र चोक, धरान रोड, बरगाछीबाट पुनः मन्दिर परिसरसम्म ७ किलोमिटर दूरीमा रथयात्रा निकाल्ने गरिएको छ । रथयात्राको नेपाल र भारतका गरी ५ लाख बढी भक्तजनले प्रत्यक्ष अवलोकन, दर्शन र पूजापाठ गर्ने गरेको मन्दिर कार्यसमिति अध्यक्ष ओझाले बताए ।

Back to top button