माहामारीको मारमा कञ्चनजंघा, करोडौं लगानी भएका होटलमा झुण्डिए ताला

ताप्लेजुङ । ग्याब्लाका दाजुभाइ छ्वाङ र दावा शेर्पाले कञ्चनजंघा पदमार्गमा होटल निर्माण गर्न १० करोडभन्दा बढी लगानी गरे। यसै वर्ष कञ्चनजंघा संरक्षण क्षेत्र व्यवथापन परिषद्ले निर्माण गरेका दुई वटा सामुदायिक लज पनि भाडामा लिएका थिए। ग्याब्ला, फम्बाचेन र लोनाकमा निर्माण भएका सुविधा सम्पन्न होटल तथा ढाङयाम र सेलेलेका सामुदायिक लज फागुनदेखि सञ्चालनमा ल्याउने योजना थियो।

कोरोना माहामारीका कारण पर्यटक नआएपछि करोडौं लगानी भएका होटलमा ताला झुण्डिएको छ। होटल निर्माण गर्दा लिएको ऋणको ब्याज र सामुदायिक लजको मासिक भाडा भने नियमित तिर्नु परिरहेको छ। ‘बैंकको ब्याज र परिषद्को भाडा तिर्न समस्या हुने भयो’, दावाले भने, ‘दुर्गम ठाउँमा वर्षौ लगानी गरियो, अलि अलि आम्दानी हुने बेलामा बन्द गरेर बस्नुपरेको छ।’

भदौ–कत्तिक र फागुन–वैशाख यहाँ पर्यटक आउने सिजन हो। लकडाउनयता यहाँ पर्यटन गतिविधि ठप्प छ। घुन्साका टासी तेञ्जिङ शेर्पाले हिउँको सिजनका लागि १० लाख रुपैयाँ बराबरको सामान जुटाए। खच्चरलाई बोकाएर ढुवानी गरेका खाद्यान्नलगायत टे«किङ सामग्री प्रयोगमा नआएपछि बिग्रन थालेका छन्। उधारोमा सामान लगाएका उनलाई अब कसरी तिर्ने भन्ने पिरलो छ। ‘सिजनभर बिक्री गर्ने र सकिएपछि तिर्ने सर्तमा ल्याएको थिएँ’, तेञ्जिङले भने, ‘अब कसरी तिर्ने ? ’ प्रत्येक होटल व्यवसायीको समस्या आफ्नो जस्तो रहेको उनले सुनाए।

ग्याब्लाका दावा चुङ्दा शेर्पाले काठमाडौंबाट फर्केर होटल थालेका छन्। अध्ययनका लागि काठमाडौं गएका दावाको सोचाइ पढेका युवाले गाउँमै काम गर्नुपर्छ भन्ने थियो। ‘आफ्नै गाउँमा केही गर्नुपर्छ भनेर १० वर्षपछि फर्केर होटल थालेँ’, दावाले भने, ‘यहाँ कृषि बाली उत्पादन हुँदैन, गर्ने भनेकै होटल मात्र हो, उत्साह लिएर आएको थिएँ, वर्षदिन नपुग्दै निराश बन्नु पर्‍यो।’

परिषद्को तथ्यांकअनुसार कञ्चनजंघा पदमार्गमा ६२ वटा होटल सञ्चालनमा छन्। ती सबै बन्द छन्। होटलमा काम गर्ने मजदुर, पर्यटक सहयोगी (भरिया), गाइड गरी पाँच सय हाराहारी रोजिरोटी पनि गुमेको छ। पदमार्गमा पर्ने सेकाथुम, जापानटार, आम्जिलेसा, ढाङयाम, ग्याब्ला, फले, घुन्सा, खम्वाचेन, लोनाक, चेइराम, सेलेले, ओक्तान र तोरोङ्देनका स्थानीय हिमाल घुम्न आउने पर्यटकमै आ िश्रत छन्।

यहाँ अन्न र सागसब्जी उत्पादन हुँदैन। केही ठाउँमा आलु उत्पादन भए पनि पर्याप्त हुँदैन। सदरमुकाम फुङ्लिङबाट खाद्यान्नलगाय सामान जोहो गर्नुपर्छ। फुङ्लिङबाट कम्तीमा दुई दिनको दूरीमा रहेको र यातायातको सुविधा नभएकाले ढुवानी महँगो पर्छ। कञ्चनजंघा (८५८६ मि.) हिमाल आउने पर्यटकको संख्या बर्सेनि बढीरहेको छ। तीन वर्षअघि वार्षिक ६ सय पर्यटक आएकोमा अघिल्लो वर्ष १ हजार ३ सय जनाले यो क्षेत्र घुमेको परिषद्को तथ्यांक छ। भ्रमण वर्षसमेत भएकाले यो वर्ष उक्त संख्या बढ्ने व्यवसायीको अपेक्षा थियो।

पर्यटक बढ्न थालेपछि स्थानीय परम्परागत पेसा छाडेर पर्यटनमा लागेका थिए। चौंरी पालेर घिउ, छुर्पी र चमर बिक्री गर्दै आएका उनीहरूको आकर्षण होटल र टे«किङमा बढेको थियो। फक्तालुङ गाउँपालिका–६ घुन्साका छेतेन शेर्पाले गत वर्ष याक गोठ बेचेर होटल खोले।

गोठ बेचेर आएको रकम होटलमा लगानी गरे। अहिले उनलाई व्यर्थै गोठ रित्याएछु जस्तो लागेको छ। ‘सबै साथी पर्यटनमा लागेको देखेर मैले पनि लगानी गरेँ’, उनले भने, ‘अब त गोठ नै ठिक जस्तो लाग्न थाल्यो।’ लकडाउनयता मुलुकभर पर्यटन क्षेत्रमा ४१ अर्ब नोक्सान भएको तथ्यांक पर्यटन मन्त्रालयले हालै सार्वजनिक गरेको छ।

कोरोना माहामारी तत्काल अन्त्य हुने सम्भावना नरहेकाले पर्यटनले अझै नोक्सान व्यहोर्नुपर्ने परिषद् अध्यक्ष खगेन्द्र फेम्बो लिम्बूले बताए। ‘संक्रमणको अवस्था हेर्दा कम्तीमा अझै दुई वर्ष पर्यटनका गतिविधि सुचारु हुने देखिँदैन’, लिम्बूले भने। परिषद्भित्र सञ्चालनमा रहेका होटललगायत पर्यटनसँग सम्बन्धित व्यवसायी कर छुट दिने विषयमा छलफल भइरहेको उनको भनाइ छ। अन्नपूर्ण पोस्ट्बाट

Back to top button