ताप्लेजुङ भित्रै पहिलो पटक कोरोना संक्रमित भेटियो

ताप्लेजुङ । अहिलेसम्म कोरोना संक्रमण नदेखिएको ताप्लेजुङ जिल्ला भित्र बुधवार पहिलो पटक एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साउदी अरबबाट फर्किएका सिरिजङ्घा गाउँपालिकाका युवा ज्वरो सहितका समस्याका कारण उपचारका लागि जिल्ला अस्पतालको फिबर कक्षमा भर्ना भएका थिए ।

उनीसंगै बिभिन्न देशबाट फर्किएर क्वारेन्टाइनमा बसेका नागरिक र शंकास्पद गरी २० जनाको स्वाब सोमवार संकलन गरी परीक्षणका लागि पठाईएकोमा ति व्यक्तिको पीसीआर रिर्पोट पोजिटिभ आएको हो ।

यसअघि २ जनाको आरडीटी रिर्पोट पोजिटिभ आएपनि पीसीआर परीक्षण गर्दा उनीहरुको रिर्पोट नेगेटिभ आएको थियो ।

यस अघि ताप्लेजुङमा १ सय ५२ जनाको पीसीआर परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आईसकेको छ । पीसीआर रिर्पोट पोजिटिभ आएका व्यक्तिलाई उपचारका लागि मोरङको गोठगाउँस्थित कोरोना उपचार केन्द्रमा पठाउने तयारी भैरहेको कोभिड १९ नियन्त्रण समिति ताप्लेजुङका अध्यक्ष एवम जिल्ला समन्वय समिति प्रमुख धनेन्द्र मादेनले जानकारी दिनुभयो ।

यसअघि भारतबाट फर्किएर झापाको बुद्धशान्ति र सुनसरीको भोक्राहास्थित क्वारेन्टाइनमा रहेका बेला गरिएको परीक्षणमा ताप्लेजुङमा ४ जना कोरोना संक्रमित फेला परेपनि ताप्लेजुङ भित्रै पीसीआर परीक्षण रिर्पोट पोजिटिभ आएको भने यो पहिलो पटक हो ।

यसअघि झापाको बुद्धशान्ति र सुनसरीको भोक्राहास्थित क्वारेन्टाइनमा फेला परेका ताप्लेजुङका कोरोना संक्रमित भने निको भएर घर फर्किसकेका छन् ।

Back to top button