सलह प्रकोप नियन्त्रणका लागि के गर्ने ? यस्तो छ अध्ययन समितिले सरकारलाई बुझाएको प्रतिवेदन

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत जेठ दोस्रो साता सलह किराको प्रकोप नियन्त्रण तथा रोकथामका लागि अवलम्बन गरिनुपर्ने सुरक्षाका उपायबारे अध्ययन गर्न प्लान्ट क्वारेन्टाइन एवं विषादी परीक्षण केन्द्रका प्रमुख सहदेश प्रसाद हुँमागाईको संयोजकत्वमा कृषि वैज्ञानिक तथा प्राविधिकहरू सम्मिलित अध्ययन समिति गठन गरेको थियो।

६ सदस्यीय उक्त प्राविधिक समितिले मन्त्रालयलाई जेठ तेस्रो साता बुझाएको अध्ययन प्रतिवेदनअनुसार ‘सलहको झुण्ड नेपालमा प्रवेश गरेको अवस्थामा तत्काल नियन्त्रणका लागि विषादीको प्रयोग बाहेक अन्य धेरै विकल्पहरू’ नरहेको उल्लेख गरिएको छ।

विषादी प्रयोग बाहेक भौतिक नियन्त्रणका उपायबारे पनि अध्ययन समितिले सुझाव दिएको छ। ‘सलह धेरै पोषिलोयुक्त किरा भएकोले जालोको पासोमा संकलन गरी दाना बनाउनका लागि प्रयोग गर्न सकिन्छ।’ प्रतिवेदनमा भनिएको छ‚ ‘सलह आउँदै गरेको अवस्थामा कुनै पनि माध्यम‚ जस्तैः आवाज, धुवाँ, आदिको प्रयोगबाट बस्न बाधा पुऱ्याई झुण्डलाई अन्यत्रै मोडिदिने पनि गर्न सकिन्छ।’

त्यस्तै नर्सरी, करेसाबारीजस्ता साना क्षेत्रफलमा हुने खेतीमा झुल वा जालीले छोपेर पनि बाली जोगाउन सकिन्छ। यद्यपि वयस्क अवस्थामा एकाएक स्थानान्तरण गर्दै आउने भएकोले सलह नियन्त्रणको प्रभावकारी उपाय भने विषादीको प्रयोग नै रहेको अध्ययनको निष्कर्ष छ।

नेपालमा सलह किराको प्रकोप देखिए त्यसको सफल व्यवस्थापनको लागि रणनीतिक कार्ययोजनाहरू बनाउनुपर्ने पनि कार्यदलले तयार पारेको प्रतिवेदनमा भनिएको छ। त्यस्ता रणनीतिक कार्ययोजनाअन्तर्गत एकीकृत व्यवस्थापन, आर्थिक समन्वय, अनुसन्धान, संस्थागत कार्य विभाजन, प्रभावकारी श्रोत साधनको उपयोग र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको प्रतिवेदनमा उल्लेख छ।

यस किराको नियन्त्रणको लागि आन्तरिक तथा अन्तरदेशीय संस्थाहरूको सहयोग सरकारलाई आवश्यक रहने पनि प्रतिवेदनमार्फत सरकारलाई सुझाव दिइएको थियो। ‘संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन ९एफएओ० लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यमा यसको स्थानान्तरणको अनुगमन र नियन्त्रणका उपायबारबारे काम गर्न सकिन्छ’ प्रतिवेदनमा भनिएको छ।

प्रतिवेदनलाई सरकारले गर्‍यो बेवास्ता
प्राविधिकसहितको उक्त अध्ययन समितिले सलह नेपाल आउने सम्भावना निकै न्यून रहेको र आइहाले पनि निकै सानो झुण्डमात्रै आउने भन्दै सरकारलाई प्रतिवेदन बुझाएको थियो। तर यो किरा नेपाल प्रवेश गरिहालेमा कसरी नियन्त्रण गर्ने र नियन्त्रण रोकथामका लागि कस्तो पूर्व सुरक्षा अपनाउने भन्ने विषयमा दिएको सुझावलाई भने सरकार र सम्बन्धित निकायले पूर्ण बेवास्ता गरेका छन्।

सलह नियन्त्रणका लागि विषादी प्रयोग मुख्य उपाय भएका कारण पर्याप्त मात्रामा विषादीको जोहो गर्न अध्ययन समितिले सरकारलाई सुझाव दिएको थियो।

तर सरकारले भने त्यसको पालना गरेको देखिँदैन। त्यस्तै, तत्काल यस किराको बारेमा जनमानसमा यथार्थ जानकारी गराउने, चेतना जगाउने, अन्य फट्यांग्रा र यस किराको फरक छुट्याउन सक्ने क्षमता विकास गर्नुपर्नेलगायतका काम पनि सरकारले नगरेको देखिन्छ।

प्रतिवेदनमा तथ्यगत पूर्वानुमानको आधारमा यसको नियन्त्रणको तयारी गर्नुपर्ने भएकोले पूर्वानुमान गर्ने क्षमताको विकास गर्न र नियन्त्रणका पूर्वाधारहरूको विकास गर्न पनि जरूरी रहेको जनाइएको छ। तर सलह नियन्त्रणकै लागि भने सरकारले न कुनै पूर्वसुरक्षा अपनाएको छ, न त आवश्यक पुर्वाधार तयारी अवस्थामा राखेको छ। छिमेकी मुलुक भारतले हजारौं ट्यांकरबाट फोहोराका रुपमा मात्र नभई ड्रोन र हेलिकप्टरमार्फतसमेत विषादी छर्कदा पनि यो किरा नियन्त्रणमा आउन सकेको छैन।

Back to top button