प्रहरी निरीक्षक नै लागूऔषध कारोबारका नाइके !

काठमाडौं । लागूऔषधको ओसारपसार र कारोबार रोक्ने मुख्य जिम्मेबारी पाएको नेपाल प्रहरीका निरीक्षक रुद्रबहादुर शाही आफै सेवनकर्ता, ओसारपसार र कारोबारमा संलग्न रहेको खुलेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोले बिहीबार नियन्त्रणमा लिएका निरीक्षक शाहीले काठमाडौंमा देशका विभिन्न सीमानाकाबाट लागूऔषध खरिद गरेर काठमाडौं ल्याउने गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) प्रविण धितालले शाही लामो समयदेखि काठमाडौंमा औषधीजन्य लागूपर्दाथ भित्राउने मुख्य भुमिकामा रहेको बताए । उनका अनुसार शाहीले आफ्नो पदको दुरुपयोगगर्दै पूर्वी नेपालका सर्लाही, बारा र सुनसरीबाट मुख्य कारोबारीले खरिद गरेका लागूऔषध काठमाडौं ल्याएर बिक्रेतालाई दिने गरेका थिए ।

“मुख्य लगानीकर्ता अरु नै रहेपनि ओसारपसारमा शाहीको संलग्नता देखिएको छ,” एसपी धितालले भने, “उहाँ आफैपनि नियमित सेवनकर्ता भएको र नाफामा समेत हिस्सेदार रहेको देखिएको छ ।”

ब्युरोले विशेष सूचनाका आधारमा बुधबार पुरानो सिनामंगल स्थित पेप्सीकोलास्थित सन्तोष कुमार शाहको डेराबाट ठुलो परिमाणमा प्रतिबन्धित मनोद्धिपक औषधी सहित चारजनालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले शाहको कोठाबाट डायलेक्स डिसी बोत्तल थान ६६०, नाईट्राभेट ११४० ट्याब्लेट , स्पास्मो प्रोक्सीवन क्याप्सुल ३३० थान र नगद रू १ लाख सहित काठमाण्डौ महानगरपालिका–१ नारायणचौर नक्साल बस्ने बर्ष ४८ को भुपेश शेरचन, काठमाण्डौ महानगरपालिका–३० ज्ञानेश्वर बस्ने बर्ष ४८ को अभिनास थपलिया र काठमाण्डौ महानगरपालिका–३२ बस्ने बर्ष ३६ को एलिसन बस्नेतलाई पक्राउ गरेको थियो । उनीहरुसँगको प्रारम्भिक बयान र मोबाइलमा बारम्बार देखिएको सम्पर्कपछि प्रहरी निरीक्षक शाही अनुसन्धानमा तानिएका थिए ।

ब्युरोले कारोबारीहरु मार्फत शाहीसँग सम्पर्क गरेर उनलाई लागू औषध लिएर आउन भनेपछि बिहीबार शाही आलोकनगर मिनभवनमा डायलेक्स डिसी १०० एमएल लेखिएको बोत्तल थान ७ , नाईट्राभेट ४६ ट्याब्लेट सहित आउँदा नियन्त्रणमा लिएको दाबी गरेको छ । शाही लामो समय सादा पोशाकमा काम गरेका प्रहरी अधिकृत हुन् । उनले अपराध महाशाखा र ट्राफिक महाशाखाको विशेष टोलीको नेतृत्व गरेका थिए ।

पछिल्लो समय प्रदेश २ बाट परिसर ललितपुरमा सरुवा भएका शाहीले आफ्नो सम्पर्क संयन्त्र र शक्तिको दुरुपयोग गर्दै काटमाडौंमा लागूऔषध भित्राउन मुख्य भुमिका खेलेका थिए ।

प्रहरीले पक्राउ गरेका चारजना बिरुद्ध १० दिन र शाही बिरुद्ध ७ दिन काठमाडौं जिल्ला अदालतबाट अनुसन्धान म्याद लिएको छ । एसपी धितालले शाहीलाई निलम्बनका लागि प्रहरी प्रधान कार्यालयमा पत्राचार भएको बताए ।

Back to top button