
काठमाडौं । बजारमा गुणस्तरहीन मास्क बिक्रीवितरण भइरहेका बेला विशेषज्ञहरूले कपडाको तीन तह भएको मास्क कोरोना भाइरसको प्रसारलाई रोक्न उपयोगी हुने बताएका छन् ।
ग्रामीण क्षेत्रमा सर्जिकल मास्क पाउन मुस्किल हुने भएकाले कपडाको मास्क लगाउन सकिने उनीहरूको सुझाव छ ।
‘कोरोनाविरुद्धको लडाइँमा फेस मास्क धेरै महत्त्वपूर्ण छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘घरबाहिर अत्यावश्यक कामले निस्किँदा सबैले अनिवार्य रूपमा मास्क लगाउनुहोला भनिरहेका छौं ।’
घरमै नेपाली थैली बनाएझैं सुती कपडाको तीन तहको पातलो कपडा सिलाएर मास्क बनाउन सकिने उनको भनाइ छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाको प्रसारलाई रोक्न र जीवन बचाउने उपायको रणनीतिको एक अंगका रूपमा मास्क प्रयोग गर्नुपर्छ । भीडभाडमा २ मिटर अर्थात् करिब ६ हात टाढाको दूरी कायम गरी मास्क लगाए जोखिमबाट बच्न सकिन्छ ।
‘संक्रमित व्यक्तिको मुख र नाकबाट निस्किने पानीको थोपाबाट कोरोना संक्रमण सर्ने सम्भावना हुन्छ, यसैले खोप नआएसम्म मास्क लगाउनु अत्यावश्यक छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले मास्क लगाउने तरिकाबारे भने, ‘नाक, मुख र चिउँडो छोप्दै मास्कलाई अनुहारमा लगाउनुपर्छ ।
मुख र मास्कबीच कुनै खाली ठाउँ छोड्नुहुन्न ।’ उनका अनुसार एन ९५, सर्जिकललगायतका मास्क मात्र नभई सुती कपडाको तीन तहबाट बनेको मास्क सही तरिकाले उपयोग गर्दा अधिकतम सुरक्षित हुन सकिन्छ ।