गृहमन्त्रालयले उपत्यकाका तीनवटै जिल्लाका सीडीओलाई भन्यो- ‘बाहिरबाट आउनेलाई १४ दिन होम क्वारेन्टाइनमा राख्नू’

काठमाडौं। गृहमन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएका मानिसलाई अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन परिपत्र गरेको छ। आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्लालाई पत्र लेखेर गृहले यस्तो निर्देशन गरेको हो।

पछिल्लो समयमा बाहिरबाट आउने मानिसलाई पीसीआर जाँचको रिपोर्ट नभई घरधनीहरूले प्रवेश गर्न रोक लगाउने गरेको गुनासोसहित दैनिक एक हजारभन्दा बढी सेवाग्राही पीसीआर परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा जाने गरेका छन्।

  • पीसीआर परीक्षणका लागि दैनिक एक हजारभन्दा बढी पुग्छन्  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा
  • कम्तिमा १४ दिन अनिवार्य  होम क्वारेन्टाइनमा बस्ने 
  • लक्षण देखा परे मात्र अस्पताल जाने व्यवस्थाको परिपालना गराउन परिपत्र 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको राष्ट्रिय परीक्षण निर्देशिका बमोजिम उपत्यका बाहिरबाट काठमाडौं भित्रिने मानिस अनिवार्य रूपमा कम्तिमा १४ दिन होम क्वारेन्टाइनमा बस्ने र उक्त अवधिमा लक्षण देखा परे मात्र अस्पताल जाने व्यवस्थाको परिपालना गराउन परिपत्र गरिएको हो।

अनावश्यक रूपमा पीसीआर जाँचका लागि चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई दबाब नदिने व्यवस्था मिलाइदिन आवश्यक सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गृहलाई पत्राचार गरेको थियो। गृहमन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूलाई नियमानुसार आवश्यक कारबाही गर्न आदेश गरेको छ।

Back to top button