नेपालमा लगानी गर्न टर्कीका व्यवसायीलाई मन्त्री भट्टराईको आग्रह

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले टर्कीका ब्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

टर्कीका व्यवसायी सँगै विहीबार आयोजित भर्चुअल बैठक मार्फत मन्त्री भट्टराईले नेपालमा लगानीको संभावना र सुरक्षा मजबुत रहेकाले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

वर्तमान सरकार समृद्धि र विकासको लागि प्रतिबद्ध रहकाले लगानीकर्ताको लगानी सुरक्षा र संभावनालाई सरकारले पहिलो प्राथमिकतामा राखेको मन्त्री भट्टराईको भनाई थियो ।

‘सरकारको नारा नै ‘समृद्ध नेपाल र सुखी नेपाली’ भएकोले समृद्ध नेपाल बनाउने सरकारको योजनामा साथ दिन म तपाईहरुलाई आग्रह गर्छु’ मन्त्री भट्टराईले भने ‘लगानीको सुरक्षामा सरकारले ध्यान दिन्छ’ ।

मन्त्री भट्टराईले नेपालमा जलविद्युत् र पर्यटन क्षेत्रमा लगानी गर्ने पर्याप्त अवसर भएको बताए ।

बैठकमा टर्कीका बैदेशिक आर्थिक तथा सम्बन्ध बोर्डका अध्यक्ष निल ओलपाक, नेपालमा टर्कीका राजदूतसकिर ओजान टोरुनलर, व्यापार परिषद अध्यक्ष श्री मुस्तफा अकिनसीलर सहभाागी थिए ।

Back to top button