जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी, संकटकाल घोषणा भएमा के हुन्छ ?

काठमाडौं । कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको ‘कोभिड–१९ स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजना’ मा २ हजार सक्रिय केस पुगेपछि जनस्वास्थ्य संकटकाल घोषणा गर्न सकिने उल्लेख छ ।

बुधबारसम्म संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले स्वास्थ्य संकटकालका विषयमा छलफल भइरहेको भन्दै अझै निर्णय नभएको बताए ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जनस्वास्थ्य संकटकाल घोषणा सम्बन्धमा सरकारलाई सिफारिस नगरिएको बताए ।

स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य संकटकाल घोषणा सम्बन्धमा छलफल गर्दै आएको छ ।

कोरोना संक्रमण रोकथामका लागि सरकारले गत ११ चैतदेखि लकडाउन गर्दै आएको छ ।

पहिलो चरणमा संक्रमित २ हजार जनालाई अस्पतालमै राखेर उपचार गर्ने सरकारको योजना थियो ।

संक्रमितको संख्या २ हजार नाघेपछि थप रणनीति बनाउन सरकार र स्वास्थ्य मन्त्रालय निरन्तर छलफलमा छन् ।

२ हजारदेखि ५ हजार संक्रमित देखिएमा ४ हजार जनालाई आइसोलेसनको आवश्यकता पर्ने र १ हजार जनालाई आईसीयू र भेन्टिलेटरसहितको स्वास्थ्य सेवा आवश्यक पर्ने योजनामा उल्लेख छ ।

संकटकाल घोषणा भएमा के हुन्छ ?
– लक्षणविहीन संक्रमितलाई घर या क्वारेन्टिनमा राखिने
– सबै अस्पतालले कोरोना संक्रमितको उपचार गर्नुपर्ने
– द्रुत प्रतिकार्य टोली तथा आपतकालीन चिकित्सकीय समूह खट्ने

यसैबीच, नेपालमा बुधबार थप २०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमध्ये १७९ जना पुरुष र २२ जना महिला रहेका छन् । यस्तै, संक्रमित ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । मृतक दोलखाका ७६ वर्षीय पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ती वृद्धलाई गत १३ जेठमा काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना गरिएको थियो । नेपालमा हालसम्म संक्रमितमध्ये २ सय ७८ जना उपचारपछि निको भएका छन् । बुधबार १२ जना डिस्चार्ज भएका हुन् । कोरोनाको आशंकामा गत २४ घण्टामा ४ हजार ९ सय २४ जनाको पीसीआरबाट नमुना परीक्षण भएको छ ।

८० हजार २ सय ६७ जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । मन्त्रालयका अनुसार देशभर हाल १ लाख ५५ हजार ८ सय ६८ जनालाई क्वारेन्टिनमा बसेका छन् । बुधबार तेह्रथुम, ताप्लेजुङ र पाँचथरमा संक्रमित भेटिएसँगै संक्रमण फैलिएको जिल्लाको संख्या ६४ पुगेको हो ।

Back to top button