ताप्लेजुङका दुई सहायक वन अधिकृत घुस अभियोगमा पक्राउ

ताप्लेजुङ, २१ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख घुस लिएको अभियोगमा ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ ।

डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार साँझ दुई लाख घुस लिएको अभियोगमा पक्राउ गरिएको हो ।

उनीहरुले सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घुस माग्ने गरेको भन्ने सूचना आयोगमा पुगेको थियो ।

सोहीअनुसार आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट एकएक लाख घुस लिएको अभियोगमा नियन्त्रणमा लिइएको आयोगको कार्यालय इटहरीका प्रमुख चक्रबहादुर बुढाले जानकारी दिए ।

नियन्त्रणमा लिइएका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौँ पठाइने बताइएको छ । आयोगका अनुसार सेवाग्राही र सेवा प्रदायकबीच कार्यालयमा नै घुस रकमको लेनदेन भएको थियो ।

Back to top button