सांसद केदार कार्कीको अभिव्यक्ति प्रति पत्रकारआवद्ध संघ संगठनको आपत्ति

विराटनगर । प्रदेश सरकारले सञ्चारमाध्यममा कोरोनाबाट बच्न सचेतना मुलक शन्देश प्रचारमा गरेको सहयोगका विषयमा प्रदेश सांसद केदार कार्कीको अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघसहित पत्रकार आबद्ध संगठनहरुले आपत्ती जनाएका छन् ।

कोरोना भाइरसको महामारीको कारण संकटमा रहेका सञ्चार माध्यमलाई प्रदेश सरकारले कोरोना सचेतना सन्देश किन दिएको भन्दै कार्कीले सदनमा प्रश्न गरेका थिए ।

स्वरोजगारमूलक सञ्चार माध्यमलाई प्रदेश सरकारले कोरोना महामारीबाट उत्पन्न संकटको अवस्थामा सन्देशमुलक सूचना दिई सहयोग गरेको विषयलाई लिएर र्काीले भ्रम छरिएको भन्दै मंगलबार विज्ञप्तिमा आपत्ती जनाइएको हो ।

नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले कोरोना जनसुरक्षा कोषको कार्य्बिधि अनुसार कोरोना विरुद्ध सचेतना फैलाउने सन्देश महासंघमार्फत प्रदेशका सञ्चार माध्यमलाई उपलब्ध गराएको जनाएको छ ।

महासंघका अध्यक्ष बिक्रम लुईटेल र महासचिब विवेक गौतमद्वारा जारी विज्ञप्तिमा अहिलेसम्म ११६ सञ्चार माध्यमले सो रकम प्राप्त गरेको र अन्य प्रक्रियामा रहेको स्पष्ट पार्दै तोकिएको मापदण्ड अनुसार पारदर्शी रुपमा उक्त सन्देशवापतको रकम वितरण गरेको जनाइएको छ ।

सरकारले महासंघमार्फत दिएको कोरोना सचेतना सन्देशको विषयमा गलत प्रचारबाजी गर्दै सञ्चारकर्मी र सञ्चार माध्यमलाई अपमान गर्ने प्रयास भएको भन्दै महासंघले आपत्ती जनाएको छ ।

कोरोना भाइरसबाट जोगिने उपायबारेको सन्देश प्रकाशन र प्रशारण गर्नेगरी १ नं प्रदेश सरकारले नेपाल पत्रकार महासंघ १ नं। प्रदेश समितिमार्फत रकम उपलब्ध गराएको छ ।

जोखिमको अवस्थामा सरकारले उद्योगी व्यापारीदेखि नागरिकसम्मलाई सरकारले राहतको प्याकेज दिएको बेला प्रदेशका पत्रकार आफैंले दुःखकष्ट गरी सञ्चालन गरेका सञ्चारमाध्यमले राहतकै रुपमा विज्ञापन पाउँदा त्यसको गलत प्रचारबाजी नगर्न महासंघले आग्रहसमेत गरेको छ ।

महासंघले सरकारसँग पत्रकार र सञ्चार माध्यमका लागि राहत प्याकेज, सञ्चार साधन खरिद र विद्युत महशुलमा छुट, समानुपातिक विज्ञापन वितरण, स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यममा वितरण, श्रमजीवी पत्रकारको पेशागत र भौतिक सुरक्षा एवं वृत्ति विकाससहित पत्रकार महासंघको संस्थागत सबलिकरणमा सहयोग गर्न सरकारलाई आग्रह गर्दै प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा त्यसलाई समेट्न माग गरेको छ ।

यसैबीच प्रेस संगठन नेपाल १ नं। प्रदेश समितिले पनि एक विज्ञप्ति जारी गर्दै संकटको बेलामा अग्रपंक्तिमा खटिएर सूचना प्रबाह गरिरहेका नेपाली सञ्चार माध्यमप्रति गलत आरोप लगाउने नेपाली काँग्रेसको संस्थागत धारणा सार्वजनिक गर्नसमेत माग गरेको छ ।

विज्ञप्तिमा प्रदेश सरकारले कोरोना सचेतना सन्देश फैलाएवापत दिएको रकम जायज भएको दावीसहित थप राहतको व्यवस्था गर्न माग गरिएको छ ।

नेपाली काँग्रेसका सचेतक कार्कीले अनावश्यक रुपमा यो विषयलाई अतिरञ्जित बनाएको संगठनका प्रदेश संयोजक राजन केडी र सहसंयोजक गणेश पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यता अनलाई मिडिया समूहले पनि सरकारबाट राहतकै रुपमा पाएको कोरोना सचेतना सन्देश वापतको रकमको बारेमा गलत प्रचार गर्ने प्रदेश सांसद केदार कार्कीलाई आफ्नो संसदकोषको रकम खर्च विवरण सार्वजनिक गर्न चुनौति दिएको छ ।

प्रदेश सरकारबाट प्राप्त रकम मापदण्ड अनुसार वितरण गर्दै महासंघले सार्वजनिक पनि गरेको बेला यसबारे गलत प्रचार गर्ने सांसद कार्कीले पारदर्शीता देखाउनुपर्ने समूहको भनाइ छ ।

समूहका मोरङ अध्यक्ष तेजेन्द्र भण्डारी र सचिब पुष्पराज थपिलियाले जारी गरेको विज्ञप्तिमा स्वरोजगारमुलक मिडियालाई प्रवद्र्धन गरेको विषयमा अर्नगल प्रचार गर्ने काँग्रेस सचेतक कार्कीको बारेमा आधिकारिक धारणा सार्वजनिक गर्न पनि नेपाली काँग्रेसलाई आग्रह गरिएको छ ।

Back to top button