
काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १९ वर्ष पुगेको छ । १९ वर्षमा पनि घटना अझै रहस्यमय नै छ । ०५८ जेठ १९ गते शुक्रबारका दिन भएको हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो ।
त्रिभुवन सदनको विलियार्ड बैठकमा भएको हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, तत्कालिन युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धिरेन्द्र, वीरेन्द्रकी बहिनी राजकुमारी जयन्ती, शान्ति र शारदासहितको ज्यान गएको थियो ।
हत्याकाण्डको बिषयमा अध्ययन गर्न तत्कालिन सभामुख तारानाथ रानाभाटको अध्यक्षतामा बनेको समितिले दरबार हत्याकाण्ड तत्कालिन युवराज दीपेन्द्रले गराएको प्रतिवेदन बुझाए पनि त्यसलाई धेरैले अझै पत्याउँदैनन् ।
प्रतिवेदनमा राप्रपा नेता पशुपतिशमशेर राणाकी छोरी देवयानी राणासँगको प्रेम प्रसंगका कारण दीपेन्द्रले हत्याकाण्ड मच्चाएको उल्लेख थियो ।
यस अवधिमा दरबार हत्याकाण्डमाथि थुप्रै टिकाटिप्पणी भए, पुस्तकहरु छापिए तर १९ बर्ष सम्म यर्थाथ कुरा बाहिर आउन सकेको छैन । राजा वीरेन्द्रपछि उनका भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भएपनि उनी नै नेपालको इतिहासमा अन्तिम राजा बने ।
हत्याकाण्डको ७ वर्षपछि ०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो ।