शनिबार १८९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १४ सय १ पुग्यो

काठमाडौं । शनिबार एकै दिन १८९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमितको संख्या १४ सय १ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अहिलेसम्म पीसीआर विधिबाट ६६ हजार सात सय २९ र आरडीटी विधिबाट एक लाख ७ हजार ५५ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार पाँच सय ७५ र आरडीटी विधिबाट एक हजार पाँच सय ७७ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म एक हजार एक सय ७६ आइसोलेसनमा छन् । शनिबार मात्र १३ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ११९ पुगेको छ । कोरोना जितेकामध्ये १७२ पुरुष र ४७ महिला छन् ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको परीक्षणमा १ सय २४ जनाको रिपोर्ट पोजिटिभ आएको हो। शनिबार केन्द्रीय प्रयोगशालामा परीक्षण गराएकामध्ये कपिलवस्तुका ७७, धनुषाका ७, झापा १, ललितपुर १, महोत्तरीका ४ र रौतहट ६, सर्लाहीका १७ र सिरहाका ११ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

प्रादेशिक प्रयोगशाला, रुपन्देहीमा भएको परीक्षणमा ३६ जनाको रिपोर्ट पोजिटिभ आएको छ। जसमा कपिलवस्तुका मात्रै २९ जना छन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका ९ जनाको रिपोर्ट पोजिटिभ आएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङमा आठ जनाको पोजिटिभ आएको छ। नारायणी अस्पताल वीरगञ्जमा भएको परीक्षणमा बाराका १ र पर्साका २ गरेर तीन जनाको रिपोर्ट पोजिटिभ आएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। उनीहरु दैलेखका हुन्। त्यसैगरी विराटनगराको कोसी अस्पतालमा भएको परीक्षणमा संखुवासभाका २ जनाको पोजेटिभ देखिएको छ। जम्मा संक्रमित संख्या १४ सय एक पुगेको हो। शनिबार कोरोना पोजिटिभ पुष्टि भएकामध्ये १८५ पुरुष र चार महिला छन् ।

मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा १ सय ६०, प्रदेश नम्बर २ मा पाँच सय ४७, बागमती प्रदेशमा ४५ र गण्डकी प्रदेशमा २० जना संक्रमित छन्। यस्तै प्रदेश नम्बर ५ मा ५४७, कर्णाली प्रदेशमा ६१ र सुदूरपश्चिम प्रदेशमा २१ जना गरी १४ सय एक जना संक्रमित छन्। संक्रमित भएका जिल्लाको संख्या ५३ पुगेको छ।

Back to top button