आज १३ औं गणतन्त्र दिवस, दिपावली गरेर मनाउन सरकारको अनुरोध

काठमाडौं । आज १३ औं गणतन्त्र दिवस । सरकारले गणतन्त्र दिवसका अवसरमा तीन दिनसम्म दिपावली गर्न अनुरोध गरेको छ ।

२०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट आजैका दिन अर्थात् जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो ।

आजदेखि १२ वर्ष पूरा भएर १३ औं वर्षमा प्रवेश गरेको छ । २०६२÷०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई समूल अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो ।

सोही आन्दोलनले सशस्त्र हिंसामा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्यायो ।

२०६४ सालको चैतमा सम्पन्न संविधानसभा निर्वाचन र त्यसपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

यो घोषणासँगै राजतन्त्रका अन्तिम उत्तराधिकारी राजा ज्ञानेन्द्र शाहले नारायणहीटीबाट बिदा लिएका थियो ।

यद्यपि, पहिलो संविधानसभाले मुलुक संघीय गणतन्त्रमा लगे पनि संविधान बनाउन सकेन र २०७२ सालमा दोस्रो संविधानसभाको निर्वाचन गरियो ।

दोस्रो संविधानसभाले बनाएको संविधान अहिले कार्यान्वयनमा क्रममा छ ।

संविधान कार्यान्वयनकै क्रममा भएका तीन तहका निर्वाचनपछि मुलुकको राजनीतिक संक्रमणकाल सकिएको छ ।

स्थिर सरकार गठन भएसँगै मुलुक अहिले आर्थिक समृद्धिको दिशामा अघि बढ्दै गएको छ ।

गणतन्त्र स्थापनापछि देशमा राजनीतिक परिवर्तनहरु संस्थागत हुँदै गए पनि जनजिविकाको सवालमा भने सोचे अनुसारको प्रगति हुन सकेको छैन ।

नयाँ चुनौति थपिएका छन् । राजनीतिक व्यवस्था र प्रणालीमा परिवर्तन भएपनि राजनीतिक दलका नेताहरुको सोच र शैलीमा परिवर्तन नआउँदा समस्या चिर्दै समाधान दिनसक्ने क्षमता भने देखिएको छैन ।

Back to top button