प्रदेश १ को बजेट अधिवेशन आजदेखि, कोरोना परीक्षण नगरेका जान नपाउने

विराटनगर । प्रदेश १ सभाको छैटौं तथा बजेट अधिवेशन आजबाट शुरू हुँदैछ।

सामाजिक दूरी कायम गर्दै पहिलेको सभाहलमा बैठक संचालन गर्न साँघुरो भएपछि भुँई तला र पहिलो तलामा दुई वटा हलबाट बैठक चलाउने तयारी गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

बैठकमा सहभागी हुन सांसदहरूको कोभिड-१९ परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ। सचिवालयले मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, संसदीय दलहरुका पदाधिकारीसहित सांसदहरुको स्वाब परीक्षण गराइसकेको छ।

यस प्रदेशमा कूल ९३ सांसद छन्। सभाहलभित्र ६५ वटा र माथिल्लो तलामा ३० वटा कुर्सीको व्यवस्था गरिएको छ।

माथिल्लो हलमा बस्ने सांसदहरुले टेलिभिजन सेटमार्फत भुँईतलाको गतिविधि अवलोकन गर्ने र माथिल्लो हलको गतिविधि भुँईतलामा रहेको टेलिभिजन सेटबाट अवलोकन गरिनेछ। सभामुखले कम्प्युटरको मोनिटरबाट माथिल्लो सभाहलको गतिविधि अवलोकन गर्ने व्यवस्था मिलाइएको छ।

Back to top button