ताप्लेजुङका ३१ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ

ताप्लेजुङ, ११ जेठ । ताप्लेजुङबाट कोरोना भाईरस (कोभिड १९) को परीक्षणका लागि पठाइएको १६ जनाको स्वाबको नतिजा नेगेटिभ आएको छ ।

विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गरीएको परीक्षणमा पठाइएका १६ जनाकै रिपोर्ट नेगेटिभ आएको निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोखरेलले जानकारी दिए ।

स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी, संक्रमित जिल्ला झापाबाट आएका एकजना र जिल्ला अस्पतालको फिबर क्लिनिकमा उपचारार्थ भर्ना भएका एक गरी १६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि गत मंगलबार पठाइएको थियो ।

ताप्लेजुङमा हाल सम्म ३१ जनाको स्वाब परीक्षण गरिएको छ ।

परीक्षण गरिएका ३१ जनाकै रिपोर्ट नेगेटिभ आएको हो ।

हालसम्म जिल्लामा ४५८ जनाको आरडिटी किटबाट परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको पोखरेलले बताए ।

अब तेस्रो चरणमा अग्रभागमा रहेर काम गर्ने हेल्थ डेक्समा कार्यरत स्वास्थ्य तथा सुरक्षाकर्मी र केही सञ्चारकर्मीको परीक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Back to top button