
विराटनगर । प्रदेश १ को बजेट अधिवेशन जेठ १४ गतेबाट सुरु गर्न प्रदेश सांसद, कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीको स्वाब संकलन गर्न सुरु गरिएको छ । समयमानै बजेट अधिबेसन सुरु गर्न कोरोना परिक्षण सहित अन्य व्यवस्थापन भइरहेको संसद सचिवालयले जनाएको छ ।
यस अघि दुरी कायम गरी सांसद र सञ्चारकर्मी बस्ने स्थानको व्यवस्थापन र पुर्ननिर्माण सकिएको र शुक्रबारबाट संसदमा उपस्थित हुने सबैको स्वाब संकलन गर्न थालिएको हो ।
प्रदेशसभाको बैठकमा सहभागी हुने ९३ सांसद, करिव १ सय प्रदेशसभा सचिवालयका कर्मचारीहरु, २० भन्दा बढी सांसदका चालक, सुरक्षाकर्मी र संसदीय रिपोर्टिङमा खटिन २० जना पत्रकारहरुको स्वाब संकलन थालिएको सचिवालयले जनाएको छ ।
पहिले सञ्चालन हुँदै आएको संसद भवनमानै संसद बैठक सञ्चालन गर्ने तयारी भएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।
यसपटक कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेकाले कोरोना परीक्षण नगराएको कसैलाई पनि प्रदेशसभा भवन भित्र प्रवेश निषेध गर्ने तयारी गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
कोरोना परीक्षण पछि प्रदेश बजेट अधिवेशनभर सांसद, कर्मचारी र सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सतर्कता अपनाउन र होम क्वारेन्टाइनमा नै बस्न प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले आग्रह गरेका छन् ।
सभामुख भण्डारीले बजेट अधिवेशनलाई छोटो बनाउन आग्रह गरिएको र अत्यावश्यक विधेयकहरु बाहेक बजेट मात्र पास गराउने तयारी भईरहेको जानकारी दिए ।
अबको बैठक हलमा करिब ६० जना सांसदहरु मात्र बस्न सक्नेछन् । बाँकी सांसदहरुका लागि नेकपा संसदीय दलको कार्यालयमा ३३ जनालाई राखेर भिडियो कन्फरेन्सिङ मार्फत बैठकसंग जोड्ने तयारी गरिएको छ ।