प्रदेश १ मा एकैदिन १७ संक्रमित थपिए, थपिनेमा १५ जना झापाका

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ । बुधबार एकैदिन १७ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या बढेको हो ।

बुधबार एकै दिन झापाका १५, सुनसरीका १ र धनकुटाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको सूचना डेक्सका अनुसार प्रदेश प्रयोगशाला र धरानमा गरिएको परीक्षणमा उनिहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

झापाका संक्रमित सबै कचनकवल गाउँपालिकाका छन् । सो पालिकामा यसअघि नै ९ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमित मध्ये धनकुटाका एक पुरुष र धरानका एक महिला छन् । यसअघि धनकुटामा ६ जना संक्रमित भेटिएकोमा थप परीक्षण गर्दा एक जना भेटिएको हो ।

प्रदेश १ मा बुधबारसम्म पिसिआरबाट ३ हजार ७ सय ७ जनाको परीक्षण भएको छ । यस्तै आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ । प्रदेश १ का जिल्लागत तथ्याङ्क अनुसार सबैभन्दा धेरै उदयपुरमा ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै झापामा २७ जना, धनकुटामा ७ जना, मोरङमा ४ जना, सुनसरीमा ३ जना, खोटाङमा एक जना र भोजपुरमा एक जना संक्रमित छन् । प्रदेशमा संक्रमित भएकामध्ये २६ जना निको भएर घर फर्किएका छन् ।

Back to top button