प्रदेश १ का ७ जिल्लामा कोरोना फैलदा संक्रमितको संख्या ५९ पुग्यो

विराटनगर । प्रदेश १ का १४ मध्ये ७ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । सात जिल्लामा कोरोना फैलदा संक्रमितको संख्या ५९ पुगेको छ ।

बैशाख ५ गते उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित भुल्केमा एकै पटक १२ जना जमातीमा देखिएको कोरोना संक्रमण एक महिनामा ७ जिल्ला सम्म पुगेको हो ।

हाल सम्ममा उदयपुर, झापा, भोजपुर, मोरङ, धनकुटा, खोटाङ र सुनसरीमा कोरोना संक्रमण फैलिएको छ ।

प्रदेश १ का तराई मधेसका जिल्ला बाहेक पहाडका दुई जिल्ला धनकुटा र भोजपुरमा मात्रै कोरोना संक्रमण फैलिएको छ ।

धनकुटामा बिरामीबाट कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ । भोजपुरमा जिल्ला बाहिर बाट गएका युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनि कोरोना जितेर डिस्चार्ज समेत भईसकेका छन् ।

उदयपुर, झापा, मोरङ र सुनसरीमा भारतबाट नेपाल आएकामा धेरैमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे बताउँछन् ।

खोटाङका संक्रमित युवक भने काठमाडौबाट घर फर्किएका थिए । उनलाई काठमाडौबाट फर्कदै कोरोना संक्रमण भएको आशंका स्थानीय जनप्रतिनिधीको छ ।

हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईका अनुसार संक्रमित २० वर्षिय युवक गत बैशाख १२ गते काठमाडौबाट घर आएका थिए । उनलाई होम क्वारेन्टाइनमा राखिएको थियो ।

सात जिल्लामा कोरोना संक्रमण फैलदा संक्रमितको संख्या ५९ पुगेको छ । सबैभन्दा बढी उदयपुरमा ३३ जना संक्रमित छन् ।

त्यसपछि झापामा १२, धनकुटामा ६, मोरङमा ४, सुनसरीमा २, खोटाङ र भोजपुरमा १÷१ जनामा संक्रमण पुष्टि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।

संक्रमित मध्ये १८ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । बाँकी सबैको विराटनगर स्थित कोरोना विषेश अस्पतालमा उपचार भइरहेको छ ।

Back to top button