
विराटनगर । प्रदेश १ मा कोरोना भाइरस (कोभिड १९) संक्रमणको पिसिआर परीक्षण दर बढाएसँगै संक्रमितको संख्या पनि बढ्न थालेको छ । मंगलबार विहान सम्ममा प्रदेश १ मा संक्रमितको संख्या ४३ पुगेको छ ।
सुरुवातमा धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै कोरोना परीक्षण गर्ने गरिएकोमा अहिले विराटनगरकै दुई स्थानमा कोरोना परीक्षण हुन्छ । उदयपुर, झापा, भोजपुर, मोरङ, धनकुटा, सुनसरी हुँदै खोटाङ सम्म कोरोना संक्रमित भेटिएपछि प्रदेश १ का तीन स्थानमा नियमित कोरोनाको पिसिआर परिक्षण गर्न थालिएको हो । विराटनगरको कोशी अस्पताल र प्रदेश प्रयोगशालामा पनि कोरोनाको पिसिआर परिक्षण हुन्छ ।
आइतबार तीन जना संक्रमित भेटिएको प्रदेश १ मा सोमबार थप ४ जनामा कोरोना पुष्टि भएको थियो । सोमबार कोरोना संक्रमण पुष्टि हुनेमा मोरङ रतुवामाई नगरपालिकाका २४ वर्षिय पुरुष, झापा कचनकवलका एक, खोटाङका एक र सुनसरीका १ युवक छन् ।
झापाका युवक भारतमा रेल खुलेपछि जेठ २ गते झापा आएका थिए । उनलाई क्वारेन्टाइनमा राखेको थियो । खोटाङका युवक काठमाडौबाट घर आएका थिए भने मोरङका पुरुष भारतबाट चोरबाटो हुँदै नेपाल छिरेको पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । सुनसरीका युवक पनि भारतबाट बैशाख ३० नेपाल आएका थिए ।
विराटनगरमा सोमबार गरिएको परीक्षणमा उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।
हाल सम्मको तथ्याङ्क अनुसार प्रदेश १ को ७ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । उदयपुरबाट सुरु भएको संक्रमण, झापा, भोजपुर, मोरङ, धनकुटा, सुनसरी हुँदै खोटाङ सम्म पुगेको हो । सोमबार नयाँ जिल्ला सुनसरी र खोटाङ पनि थपिएका हुन् । यस अघि प्रदेशका ५ जिल्लामा कोरोना संक्रमण देखिएको थियो ।
प्रदेश १ को उदयपुरमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका थिए । पछिल्लो विवरण अनुसार उदयपुरमा ३३, झापा र मोरङमा ३÷३, सुनसरीमा १, धनकुटामा १, भोजपुरमा १ र खोटाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार मोरङ विराटनगरका दुई र धनकुटाका एक जनामा कोरोना पुष्टि भएको थियो । पछिल्लो समय कोरोना पुष्टि भएका सबैलाई विराटनगरमा रहेको कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको छ ।
भर्ना गरिएका सबैको स्वास्थ्य अवस्था समान्य रहेको केन्द्रका प्रमुख डा. दीपक सिग्देलले जानकारी दिए । केन्द्रबाट हालसम्म १७ जना कोरोना जितेर डिस्चार्ज भइसकेका छन् भने बाँकी अहिले पनि उपचाररत छन् ।
पछिल्लो समय यस अघि कोरोना संक्रमण पुष्टि भएकाहरुको कन्ट्रयाक ट्रेसिङको आधारमा र संक्रमितका परिवार पहिचान गरी कोरोना परिक्षण दर बढाइएको छ । एकैपटक उदयपुरमा १२ जना कोरोना संक्रमित भेटिएपछि कोरोना संक्रमितको ग्राफ नेपालकै अन्य प्रदेशको तुलनामा माथि पुगेको प्रदेश १ मा दुई महिनामानै संक्रमितको संख्या ४३ पुगेको हो ।
यस अघि पिसिआर परिक्षण गर्न बीपीकै भर पर्नुपर्ने भएकाले संक्रमित डुलेको स्थानको र उनिहरुको परिवारको स्वाव संकलन गरी द्रुत गतिमा कोरोना परीक्षण हुन पाएको थिएन । ‘हामीले चाहाँदा पनि ठुलो मात्रामा स्वाव संकलन गरी परिक्षण गर्न पाएका थिएनौँ, अहिले तीनै स्थानमा तिब्र गतिमा परीक्षण दर बढाएका छौ,’ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भने ‘अहिले धेरै परिक्षण भएकाले संक्रमित धेरै देखिएको हो ।’
हाल बढी संक्रमण देखिएको उदयपुर, झापा, मोरङ र सुनसरीमा कोरोना परीक्षण दर बढाइएको छ । दैनिक स्वाव संकलन गर्ने र परीक्षण गर्ने क्रम चलिरहेको मुख्यमन्त्री शेरधन राई बताउँछन् । हाल प्रदेश १ मा दैनिक कम्तिमा ६० वटा सम्म नमुनाको पिसिआर परिक्षण हुन्छ ।
संक्रमित नयाँ जिल्लामा पनि देखिन थालेपछि लकडाउन र स्वाव संकलन सहित परिक्षणलाई थप प्रभावकारी बनाउन सुरु गरिएको प्रदेश १ सरकारले जनाएको छ । मोरङ र धनकुटा कोरोना संक्रमित भेटिएका नयाँ जिल्ला हुन् ।
यस अघि मोरङका दुईजना उदयपुरमा रहेको समयमा कोरोना संक्रमण देखिए पनि मोरङमानै रहेका थप दुई जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो भने धनकुटामा एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
झापा र मोरङमा भारतबाट आएकाहरु क्वारेन्टाइनमा राखिएको र उनिहरुको स्वाव परिक्षणका क्रममा रहेकाले संक्रमितको संख्या बढ्न सक्ने प्रयोगशालामा खटिएका स्वास्थ्यकर्मी बताउँछन् ।
लकडाउनमा कडाई संक्रमित भेटिएका क्षेत्र सिल
प्रदेश १ का यस अघि कोरोना संक्रमित नभेटिएका जिल्लामा पनि संक्रमित फेला पर्न थालेपछि ती स्थानमा लकडाउनलाई थप कडा परिएको छ भने संक्रमित भेटिएका क्षेत्र सिल गरिएको छ ।
आइतबार कोरोना संक्रमण पुष्टि भएको विराटनगरका दुई वडा र धनकुटाको संक्रमित स्वास्थ्यकर्मी पुगेका क्षेत्र सिल गरिएको छ । संक्रमित भेटिएको मोरङको विराटनगर महानगरपालिका ६ र १५ वडालाई सिल गरि विराटनगर क्षेत्रमा लकडाउनलाई कडा पारिइको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।
विराटनगरमा संक्रमण पुष्टि भएसँगै जिल्ला सुरक्षा समिति मोरङको आइतबार राति सम्पन्न बैठकले बाक्लो बसोबास र जनघनत्व भएका दुवै वडाका निश्चित स्थानलाई सिल गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार सोमबार बाट त्यस स्थानमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरी कडाई गर्नुको साथै सम्पुर्ण विराटनगर क्षेत्रमा लकडाउनलाई कडा गरीएको प्रजिअ भुजेलले जानकारी दिए । विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उता जिल्ला अस्पताल धनकुटमा कार्यरत नर्समा कोरोना संक्रमण भेटिएको पुष्टि भएपछि अस्पताल आसपास सहित बजार क्षेत्रलाई सिल गरिएको छ । आइतवार राती आकस्मिक रुपमा वसेको जिल्ला संकट व्यवस्था समितिको वैठकले अस्पताल आसपासका क्षेत्रलाई चार किल्ला कायम गरि अर्को आदेश नभएसम्मको लागि सिल गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी तथा कोभिड १९ कमान्ड फोर्स धनकुटा सूचना अधिकारी जयराम श्रेष्ठले बताए ।
बीपीको प्रसुती वार्ड सिल
धरानमा धनकुटाकी कोरोना संक्रमित स्टार्फ नर्सले उपचार गरि बीपी प्रतिष्ठानमा थप उपचारका लागि सुत्केरी महिलालाई भर्ना गरिएको घटना सार्बजनिक भएपछी प्रतिष्ठानको प्रसुती वार्डलाई सिल गरिएको छ ।
संक्रमित नर्सले उपचार गरेर निको नभए पश्चात थप उपचारका लागि प्रतिष्ठान रेफर गरिएकी सुत्केरी महिला प्रतिष्ठनन भर्ना भएको पत्ता लागेपछी सबैको सुरक्षाका लागि प्रसुति वार्ड सिल गरिएको उपकुलपती डा. ज्ञानेन्द्र गिरीले बताएका छन् ।
जिल्ला अस्पताल धनकुटाबाट ती महिलालाई थप उपचारका लागि शुक्रबार प्रतिष्ठान भर्ना गरिएको थियो । प्रतिष्ठानमा भर्ना भएका गर्भवती महिलाहरु र सुत्केरी भई सकिएका महिलाहरुको सुरक्षाका लागि प्रतिष्ठानले उचित व्यबस्थापन गरि सकेको सहायक प्रबक्ता डा अशोक ऐरले जानकारी दिएका छन् । धनकुटाकी संक्रमित स्वास्थ्यकर्मीलाई उपचारकालाई विराटनगर स्थित कोरोना अस्पताल ल्याईएको छ ।