भारतीय नागरिकलाई नेपाल प्रवेशमा रोक्न झापामा हवाई फायर

झापा । झापाको दक्षिण कचनकबल–१ घेराबारीमा शनिबार राती हवाई फायर भएको छ । शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका हुन् ।

सशस्त्र प्रहरी बल २ नं हेडक्वार्टर भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले राति ९ः३० बजेतिर घरेलु हतियारसहित उनिहरु नेपाल प्रवेश गर्न खोजेको पुष्टि गरे ।

डेढ सयको सङ्ख्यामा भारतीय नागरिक १२५÷१० नम्बरको सीमास्तम्भ नजिकबाट भारतीय नेपाल छिर्न लागेपछि एक राउण्ड हवाई फायर गरिएको उनले बताए । नेपाली सुरक्षाकर्मीले हवाई फायर गरेपछि उनीहरु भागेर तितर वितर भएका थिए ।

एक साताअघि झापा गाउँपालिका–४ सुकुम्बासी बस्तीमा १३१ नम्बरको सीमास्तम्भ नजिक रहेको नेपाली सुरक्षा चौकीमा भारतीय नागरिकले हुलहुज्जत गर्दा दुई राउण्ड हवाई फायर भएको थियो ।

भारतीय पक्षबाट सो घटनाका बारेमा माफी माग्दै अबदेखि सीमामा हुलहुज्जत नगर्ने प्रतिबद्धता व्यक्त भएको थियो । यसैगरी डेढ साताअघि झापाको कचनकबलस्थित सीमा क्षेत्रमा तैनाथ नेपाल प्रहरीको टोलीमाथि भारतीयले आक्रमणको प्रयास गरेका थिए ।

Back to top button