सुत्केरी महिलाको मृत्युको कारण खोज्दै विज्ञ टोली पुग्यो धुलिखेल अस्पताल

काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षीया महिलाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप अनुसन्धान थालेको छ । उनको मृत्यु कोरोनाको कारण भएको आशंका गरिएपछि मन्त्रालयले अनुसन्धानको लागि डा गुणराज लोहनीसहितको विज्ञ टोली धुलिखेल अस्पताल पुगेको छ ।

गत बिहीवार धुलिखेल अस्पतालमा उपचारको क्रममा सिन्धुपाल्चोक बाह्रविसेकी २९ वर्षीय महिलाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार उनी गत बैशाख २५ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सुत्केरी भएर घर फर्किएकी थिइन् । स्वास्थ्यमा थप समस्या देखिएपछि काभ्रेको धुलिखेल अस्पतालमा बिहीवार भर्ना गरिएको थियो ।

घरमा पुगेपछि ज्वरो, स्वासप्रश्वासलगायत शारीरिक समस्या आएपछि धुलिखेल अस्पतालमा ल्याइएको थियो ।

उनको भर्खर जन्मिएको बच्चा धुलिखेल अस्पतालमा नै रहेको छ । साथै शनिबार दिउँसो मृतकको श्रीमान, सासु र नन्दको स्वाब संकलन गरिएको स्रोतले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित मिडिया ब्रिफिङका क्रममा ती महिलाको रिपोर्ट आएपछि मात्र सार्वजनिक गर्ने बताएका थिए ।

आज शनिवार एकैदिन यो समाचार तयार पार्दासम्म ११ जनामा संक्रमण पुष्टि भइसकेको छ । यो सँगै हालसम्म नेपालमा २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने ३६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

शनिवार मात्रै नेपालमा काभ्रे, सिरहा, महोत्तरीमा गरि थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने काभ्रे र सिरहामा पहिलोपल्ट संक्रमित फेला परेका हुन् । संक्रमित मध्ये २ सय २४ जना पुरुष र ५४ जना महिला रहेका छन् ।

Back to top button