ताप्लेजुङमा मदन भण्डारी जन्मिएको यो घर, जसको जेठ ३ पछि चर्चा हराउँछ

ताप्लेजुङ । वर्षमा एक पटक सञ्चारमाध्यममा छाउने यो घर स्वर्गीय जननेता मदन भण्डारीको जन्म घर हो ।

अधिकाँस सञ्चारमाध्यममा संरक्षणको पर्खाइमा मदनको घर भन्ने शिर्षकमा समाचार आउने गर्छन । तर, जेठ ३ पछि सबैले यसलाई भुल्छन् । घरको अवस्था उस्तै नै छ ।

जेठ ३ गते स्वर्गीय जननेता मदन भण्डारीलाई सम्झने दिन अर्थात भण्डारीको स्मृति दिवस सँग जन्म घर र स्थान प्राय जोडिन्छ । तर, विकासको योजना र नेताको संझनामा जोडिदैन किन ? प्रश्न ताप्लेजुङबासीको छ ।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र एमाले सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते सवारी दुर्घटनामा परी निधन भएपछि वर्षमा एक पटक घर र ताप्लेजुङको चर्चा हुन्छनै । तर, न जन्म घर र क्षेत्रको विकासमा ध्यान छ नत, हत्याकाण्ड घटनाको कारणनै पत्ता लगेको छ ।

यस्तो क्रम चलेको पनि २७ वर्ष पूरा भयो । त्यतिबेला जन्मिएका बच्चा युवा भए । आज उनिहरुले सामाजिक सञ्जालमा घटना पत्ता लगाउन दबाब दिइरहँदा घटनाको दिन देखेका नेता बुढा हुन थाल्दा घटना गुपचुपनै छ ।

अहिले जननेता भण्डारीको स्मृति दिवसमा औपचारिक तथा अनौपचारिक रुपमा उनलाई सम्झाना गरे पनि उनी जन्मिएको घर भने उपेक्षामा परेको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ ढुङ्गेसाँघुको ठोट्नेमा रहेको भण्डारीको जन्मघर उपेक्षाका कारण हाल जीर्ण बन्दै गएको छ ।

भण्डारी जन्मिएको पूरानो घरको आवश्यक रेखदेख साथै संरक्षण नहुँदा घर–संरचना दिनदिनै जीर्ण बन्दै गएको हो । आज स्वर्गीय जननेता भण्डारीको श्रीमती विद्यादेवी भण्डारी देशकै सर्बोच्च ओहोदामा अर्थात राष्ट्रपति छिन् ।

अहिले झण्डै दुई तिहाइ मतका साथ कार्यकारी अधिकारसहित राज्यसत्ता पनि नेकपाले नै सञ्चालन गर्दै आएको छ । यस्तो अवस्था पनि भण्डारीको जन्म घरको संरक्षणमा आवश्यक ध्यान नगएको जस्तै देखिन्छ ।

घरको संरक्षण गरी संग्रहालय अर्थात विशेष स्थालको रुपमा विकास गर्ने योजना बन्दै गरेको भनेर बेलाबेलामा सुन्ने गरिए पनि हालसम्मको प्रगति शून्य रहेको छ ।

हाल नेकपाका केन्द्र हुँदै जिल्लास्तर सम्मका नेता तथा कार्यकर्ता, अन्य जो कोही भण्डारीको जन्म घरमा पुगेर तस्बिर खिचाउने र सामाजिक सञ्जालहरुमा प्रशस्तै लगाउने गरेको पाइँन्छ ।

धेरै चर्चा हुने गरे पनि खर (फुस) को छानो भएको जीर्ण घरको संरक्षण तथा यस ठाउँलाई विशेष स्थलको रुपमा विकास गर्नका लागि ठोस कार्य भएको देखिँदैन ।

उता चितवनको दासढुङ्गामा भण्डारी र आश्रित सवार जिप त्रिसुलीमा खसेर भएको घटना रहस्यमय भएको भनिँदै आए पनि अहिलेसम्म यथार्थ पत्ता लाग्न सकेको छैन । घटनाको गहिरो छानबिन हुन नसकेको भन्दै तत्कालीन एमालेभित्र आलोचना हुने गरेको कुरा बेलाबेलामा बाहिरिने गरेको थियो ।

त्यसबेलाको दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा जीवित थिए । पछि २०६० सालमा लामाको पनि हत्या भएपछि उक्त घटनाको यथार्थ पत्ता लगाउनलाई थप कठिन बनेको नेकपाका केही नेताहरुले बताउँदै आएका छन् ।

Back to top button