
काठमाडौं । भारतमा कोरोनाको संक्रमण तीब्र गतिमा बढिरहेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार भारतले चीन र पेरुलाई संक्रमितको संख्यामा उछिनेको छ।
आज बिहानसम्मको तथ्याङ्कअनुसार भारतमा कोरोना भाइरस संक्रमतिको संख्या ८५ हजार ७ सय ८४ पुगेको छ। कोरोनाको उद्गम मुलुक मानिएको चीनमा यो संख्या ८४ हजार ३१ छ।
भारतमा हरेक दिन ३ हजार ५ सयदेखि ४ हजारको संख्यामा संक्रमितहरु थपिइरहेका छन्। यो ट्रेन्ड झन्डै दुई सातादेखि जारी छ।
हिजो बिहानसम्म भारतमा संक्रमितको संख्या चीनको भन्दा कम थियो। चीनलाई उछिन्दा पेरुको संख्याभन्दा पनि माथि पुगेको छ भारत। पेरुमा अहिलेसम्म ८४ हजार ४ सय ९५ संक्रमित छन्। यससँगै भारत विश्वका धेरै संक्रमित हुने मुलुकको ११ औं स्थानमा पुगेको छ।
भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ७ सय ५३ पुगेको छ।