
देवराज गुरुङ, ताप्लेजुङ । जिल्लाका अग्नीपीडित परिवारलाई ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले बुधबार राहत वितरण गरेको छ । समाजले अग्नीपीडितलाई ६ लाख ९२ हजार १ सय ६१ रुपैयाँ नगद प्रदान गरेको हो ।
समाजका जिल्ला प्रतिनिधि तथा पत्रकार देवराज गुरुङ र कमल माङ्मु लिम्बुले समाजबाट प्राप्त नगद नगरप्रमूख छत्रपति प्याकुरेललाई हस्तान्तरण गरे ।
नगरप्रमूख प्याकुरेल र उपप्रमूख बम बहादुर भट्टराईले अग्नीपीडित परिवारलाई राहत बितरण गरे ।
घर पूर्ण रुपमा क्षति भएका ७ घरपरिवारलाई जनही ३६ हजार ६ सय ६६ रुपैयाँँ र फुटबल सँघ र २० घरपरिवारलाई जनही २० हजार ७ सय ३८ रुपैयाँका दरले राहत प्रदान गरेको हो । अग्नीपीडित टीकाराम गुरुङ,मंगल मेन्याङबो र बालमणि बरालले राहत बुझेनन् ।
प्रशासनको तथ्यांकमा उल्लेख भएपनि उनीहरुको भन्दा अरुको धेरै क्षति भएकाले यसअघिका राहत पनि लिएका छैनन् । अग्नीपीडितमध्ये बरालले भने,“राहत प्रदान गर्ने संस्था तथा व्यक्तिले सम्झेकोमा खूसी छौ । तथापी हाम्रो भन्दा धेरै क्षति अरुको भएकाले हामीले राहत लिएका छैनौ ।”
अग्नी पीडित बरालले नै केहीदिन अघि अन्य पीडित परिवारलाई जनही २ हजारका दरले राहत प्रदान गरेका थिए । समाजका उपाध्यक्ष शंकर राई र महासचिव सागर माङ्मु लिम्बुका अनुसार कोरियामा रहेका नेपालीहरुबाट उक्त रकम संकलन गरिएको हो ।
समाजले सामाजिक काम आर्थिक सहयोग प्रदान गर्दै आएको छ । बैसाख १९ गते सदरमुकाममा भएको आगलागीमा ७ करोड ६५ लाख क्षति भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।