विराटनगरबाट थप दुई जना कोरोना जितेर डिस्चार्ज

विराटनगर । विराटनगरको कोभिड १९ उपचार केन्द्रबाट दुई जना डिस्चार्ज भएका छन् । यो सँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ ।

आइतबार दिउँसो झापाका एक र भोजपुरका एक जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा भोजपुरका २७ वर्षिय युवक र झापा बाह्रदशी गाउँपालिकाका ६३ वर्षिय बृद्ध छन् ।

भोजपुरका युवक बैशाख १० र झापाका बृद्ध बैशाख १२ मा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका थिए । लगातार तीन पटक सम्म स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि उनिहरुलाई आइतबार दिउँसो डिस्चार्ज गरिएको कोभिड–१९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए ।

दुबै जनालाई स्थानीय जनप्रतिनिधी सँगको समन्वयमा होम क्वारेन्टाइनमा बस्ने गरी एम्बुलेन्समा राखेर आइतबारनै घर पठाइएको छ । कोभिड १९ उपचार केन्द्रबाट यसअघि बुधबार ६ र शुक्रबार ८ जना डिस्चार्ज भएका थिए ।

यस अघि डिस्चार्ज हुनेमा ७ जना भारतीय, २ जना विराटनगरका र ५ जना उदयपुर भुल्केका नागरिक थिए । अब १९ जना उपचार केन्द्रमा उपचाररत छन् ।

शनिबार उदयपुरका ४ जना नागरिकमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा संक्रमितको संख्या ३५ पुगेको छ ।

Back to top button