मोरङको विराटचोकमा कस्ले फाल्यो १० र २० को नोट ?

विराटनगर । केही दिनअघि जनकपुरका सडकमा पैसा फालेर महिला भागेको घटना सेलाउन नपाउँदै मोरङको विराटचोकमा शुक्रबार यस्तै घटना दोहोरिएको छ ।

शुक्रबार दिउँसो एक बोलेरो जीपमा आएका व्यक्तिले पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने विराटचोक बजार क्षेत्रमा १० र २० को नोट फालेर भागपछि स्थानीय अचम्ममा परे ।

कोरोना संक्रमणको महामारीमा पैसाबाट पनि भाइरस सर्ने चर्चा चलिरहेको समयमा यसरी सडकमानै बोलेरोका भ्mयालबाट पैसा फाल्दै गएपछि स्थानिय त्रसित समेत बनेको प्रत्यक्षदर्शी समेत रहेका स्थानीय सञ्चारकर्मी सुदिप कोइरालाले जानकारी दिए ।

‘सडकमा पैसा फालेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरे, प्रहरी पनि सो स्थानमा पुग्यो तर, प्रहरी समेत अलमलमा परेपछि मैले पैसा टिपेर पोको पारेर प्रहरीलाई दिएँ,’ सञ्चारकर्मी कोइरालाले भने ‘मैले सर्जिकल ग्लोब लगाएकाले अनुसन्धानका लागी दिएँ ।’

उनका अनुसार स्थानीयले बोलेरोमा रहेका व्यक्तिले पैसा फालेको बताए पनि बोलेरो झापा तर्फ गएकाले प्रहरीले समाचार तयार पार्दा सम्म नियन्त्रणमा लिएको छैन । घटनाको विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले बताएको छ ।

यस अघि जनकपुरको महावीर चोकमा १० र सयका विभिन्न नोट फालेर दुई महिला भागेको घटना सार्वजनिक भएको थियो भने भारतका विभिन्न राज्यमा पनि सडकमा पैसा फाल्नेहरु देखिएका थिए ।

Back to top button