स्थायी कमिटी बैठक नै अनिश्चित, बैठकबाट ओली बाहिरिएपछि नेकपामा नयाँ विवाद

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठकबाट बाहिरिएपछि नेकपा स्थायी कमिटी बैठक अनिश्चित बनेको छ ।

बिहीबार बोलाइएको स्थायी कमिटीको बैठकका एजेन्डा तय गर्न बसेको सचिवालय बैठकको बीचमै अध्यक्ष ओली बाहिरिएपछि सचिवालयले कुनै निर्णय गर्न सकेन । बैठक सुरु भएलगत्तै ओली बाहिरिएका थिए । अब के गर्ने भन्ने विषयमा दुईजना अध्यक्ष बसेर निर्णय गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

“बैठक र एजेन्डा के गर्ने भन्ने विषयमा दुई अध्यक्षबीच छलफल हुँदैछ,” पार्टी प्रवक्ता श्रेष्ठले भने, “दुई अध्यक्षबीचको छलफलपछि बैठक र एजेन्डा तय हुन्छ ।”

ओली हिँडे पनि निर्णय हुन सक्दैनथ्यो ?

बिहीबारदेखि सुरू हुन लागेको नेकपा स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न बसेको सचिवालय बैठकको बीचमै ओली उठेर हिँडेपछि अब कस्तो निर्णय आउला भन्ने चासोको विषय बनेको थियो । तर सचिवालयका अन्य सदस्यहरु पनि बिना निर्णय बैठकबाट बाहिरिए ।

अध्यक्ष ओली नै बाहिरिएपछि बहुमतका आधारमा स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न सकिँदैनथ्यो ? “निर्णय हुन त सक्थ्यो तर त्यसले पार्टीमा झनै विवाद निम्त्याउन र निर्णय कार्यान्वयन नहुने सम्भावना पनि उत्तिकै रहन्छ,”एकजना स्थायी कमिटी सदस्यले बाह्रखरीसँग भने ।

उनकाअनुसार यसअघि वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय ओलीकै उपस्थितिमा भएको पनि त्यो कार्यान्वयन हुन सकेन । किनकि त्यहाँ सहमति भइसकेको थिएन । दुईवर्षअघि जेठ २ गते भएको पाँचबुँदे सहमतिको पहिलो बुँदामा सहमतिका आधारमा पार्टीमा निर्णय गर्ने उल्लेख गरिएको छ ।

सहमतिको पहिलो बुँदामा भनिएको छ, “जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीमा जनवाद र माओवादीसम्बन्धी राजनीतिक मान्यतालाई परिवर्तित नयाँ सन्दर्भमा विकसित र परिमार्जन गरी समाजवाद उन्मुख जनताको जनवादका रुपमा अगाडि बढाउने । आगामी एकता महाधिवेशनमा वैचारिक, राजनीतिक विषय एवम् नेतृत्व निर्माण र संगठन सम्न्धी विषय अल्पमत र बहुमतका आधारमा नभइ सहमति र समझदारीका आधारमा टुंगो लगाउने ।”

Back to top button