
विराटनगर, २४ बैशाख । सरकारले जेठको पहिलो सातासम्म लकडाउन लम्ब्याउने तयारी गरेको छ । लकडाउनको निर्णयगर्न आज मन्त्रिपरिषदको बैठक बस्नेछ ।
कोरोना परीक्षण सुस्त रहेको र लकडाउनको उल्लंघन बढेकाले लकडाउनको मोडालिटी तत्काल हेरफेर समेत नगर्ने सरकारको तायरी छ ।
अत्यावश्यक र कृषि क्षेत्रबाहेक अन्यत्र लकडाउन खुकुलो नगर्ने कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समवन्य समितिको बैठकले निर्णय समेत गरेको बताइएको छ ।
मंगलबार बसेको समितिको बैठकमा पहिलोपटक प्रधानमन्त्री केपी ओली आफैँ उपस्थित थिए । उनले मन्त्रीहरूको ब्रिफिङ सुनेपछि तत्काल खुकुलो बनाउने अवस्था नभएको धारणा राखेका थिए ।
एक मन्त्रीका अनुसार जेठको पहिलो सातापछि अवस्था हेरेर मात्र मोडालिटी परिवर्तन हुन सम्भावना छ । बैठकमा केही मन्त्रीले आर्थिक क्षेत्रमा ठूलो असर परेकाले पूर्ण रूपमा स्वास्थ्य सुरक्षा अपनाएर काम गर्न दिन सकिने प्रस्ताव गरेका थिए ।
भारतमा समेत केही दिनयता संक्रमण र मृत्युको संख्या बढिरहेकाले नेपालमा पनि त्यही अनुसार जोखिम बढ्न सक्ने आकलन गरिएको छ ।