
विराटनगर, २४ बैशाख । विराटनगरमा उपचार गराइरहेका ६ कोरोना संक्रमित भारतीय नागरिकले कोरोना जितेका छन् । उनिहरुलाई आज डिस्चार्ज गर्ने तयारी भएको छ ।
उदयपुरको एक मस्जिदमा रहेको समयमा कोरोना संक्रमण पुष्टि भएका मध्ये ६ जनाको कोरोना परिक्षणमा रिपोर्ट नेगेटिभ आएकाले उनिहरुलाई आज (बधबार) डिस्चार्ज गर्ने तयारी रहेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।
‘५ र ६ बैशाखमा अस्पताल भर्ना भएका १३ जना मध्ये ६ जना मुस्लिम धर्म प्रचारक जमातीले कोरोना जितेका हुन,’ मन्त्री घिमिरेले भने ‘उनीहरुलाई डिस्चार्ज गर्दैछौँ ।’
डिस्चार्ज हुनेमा ३०, २९, २८, २१, ३४ र २६ वर्षीय भारतीय नागरिकले छन् । उनिहरु अस्पतालमा भर्ना भएको १८ दिनपछि कोरोना मुक्त हुन लागेका हुन् ।
डिस्चार्ज सबै भारतीय नागरिक रहेको र हाल नेपाल–भारत दुवैतर्फ लकडाउन भएकाले उनिहरुलाई तत्काल विराटनगर–१६ रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिने जनाइएको छ ।
मस्जिदमा १० वटा बेडरुम र अलग्गै १० वटा शौचालयको व्यवस्था रहेकोले उनीहरुलाई मस्जिदमै राखिने तयारी भएको हो । कोरोना विशेष अस्पतालका प्रमुख डाक्टर दीपक सिग्देलका अनुसार सबैको कोरोना पुनः परिक्षण गरिएकोमा ६ जनाको नेगेटिभ रिपोर्ट आएको हो ।
विराटनगरको कोरोना अस्पतालमा ३१ जना उपचाररत छन् । ती मध्ये २८ जना उदयपुरमा भेटिएका संक्रमित हुन । उदयपुरमा ५ बैशाखमा धर्म प्रचारका लागि आएका १२ जना जमातीलाई कोरोना संक्रमण देखिएको थियो ।