प्रचण्डको सक्रियता, ओली भेट्न बालुवाटार

काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद तत्कालका लागि साम्य भए पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सक्रियतालाई कायम राखेका छन् ।

तत्कालका लागि पार्टीको विवाद मथ्थर भएका बेला अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रचण्ड सोमबार बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री ओलीविरुद्धको राजनीतिले नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो । तर,सो विवादलाई साम्य बनाएपछि पहिलोपटक सोमबार ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा पुगेका हुन् । शनिबारको सचिवतलय बैठकपछि प्रचण्ड पहिलोपटक ओलीलाई भेट्न पुगेका हुन् ।

आइतबार वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका प्रचण्ड सोमबार ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । पार्टीको आसन्न सचिवालय र स्थायी समितिको बैठक अघि प्रचण्डको आन्तरिक सक्रियता देखिएको हो ।

यही वैशाख २४ गते सचिवालय र २५ गते विहान ११ बजे स्थायी कमिटीको बैठक डाकिएका बेला प्रचण्डले पार्टीका शीर्ष नेताहरुसँगको भेटवार्तालाई जारी राखेका हुन् ।

Back to top button