मन्त्रिपरिषद्‌को बैठक बस्दै, लकडाउनका बारेमा समीक्षा हुने

काठमाडौं । मन्त्रिपरिषद्‌को बैठक केही बेरमा बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि डाकिएको बैठकमा सहभागी हुन मन्त्रीहरु जाने क्रम जारी छ।

बैठकमा सहाभागी हुन मन्त्रीहरु आउने क्रम सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। बैठकमा कोराना भाइरसका कारण गरिएको लकडाउनका बारेमा समीक्षा हुने बुझिएको छ। सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने विषयमा सुझाव आइरहेकाले सरकारले यो विषयमा आन्तरिक गृहकार्य गरिरहेको छ।

शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बैशाख २५ पछि लकडाउन केही खुकुलो हुने संकेत गर्दै कृषि, उद्योगधन्दा तथा अरु महत्वपूर्ण कुराहरुलाई मध्यनजर गर्दै लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने बताएका थिए।

कारोनाका कारण दीर्घरोगी र अन्य बिरामी अस्पतालबाट पाउने सेवाबाट बञ्चित भएको अवस्थालाई मध्यनजर गर्दै बिरामीलाई अस्पतालसम्म पुर्‍याउन पनि लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने उनको भनाइ थियो।

Back to top button