ताप्लेजुङको आगलागीमा ७ करोड ६५ लाखको क्षति, २९ परिवार विस्थापित

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा शुक्रबार राती भएको आगलागीबाट ७ करोड बढिको क्षति भएको पाईएको छ ।

शनिबार संकलन गरिएको प्रारम्भिक बिवरण अनुसार ७ करोड ६५ लाख ७२ हजार ७ सय रुपैँया बराबरको क्षति भएको छ ।

सो मध्ये व्यत्तिगत ७ करोड ४३ लाख २५ हजार र संस्थागत तर्फ २२ लाख ४७ हजार ७ सय रुपैँयाको क्षति भएको पाईएको हो ।

आगलागीले ८ वटा घरहरु जलेका थिए । अन्य केहि घरहरुमा आंसिक क्षति भएको थियो ।

आठ घरमा डेरा, पसल गरि बस्ने २९ परिवार विस्थापित बनेका छन् । आगलागीले ८ वटा संस्थागत कार्यालयमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरिक्षक मोहन पोखरेलले जानकारी दिए ।

पोखरेलको संयोजकत्वमा ४ सदस्यीय क्षतिको विवरण संकलन गर्न समिति बनेको थियो ।

राती करिब साढे १० बजेबाट सरु भएको आगलागी विहान मात्र पुर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

आगलागी प्रभावित परिवारलाई शनिबार रेडक्रस, फुङलिङ नगरपालिका र ताप्लेजुङ बहुउद्धेश्यि सहकारी संस्थाले राहत वितरण गरेकाछन् भने जिल्ला विपद् व्यवस्थापन समितिले भने आईतबार बैठक बसि क्षति विश्लेषण गरि राहत दिने तयारी गरेको छ ।

Back to top button