ताप्लेजुङ आगलागी प्रभावितलाई राहत वितरण सुरु, बासको व्यवस्था गर्न बैठक बस्दै

ताप्लेजुङ । शुक्रबार राति ताप्लेजुङ सदरमुकाममा भएको आगलागीबाट प्रभावित परिवारलाई राहत वितरण सुरु गरिएको छ ।

विहानै तथ्याङ्क संकलन गरी फुङलिङ नगरपालिका र रेडक्रस जिल्ला शाखाले राहत वितरण सुरु गरेको हो । आगलागीबाट ८ घर जल्दा ३७ परिवार प्रभावित छन् ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार ८ वटा घरमा व्यापार व्यवसाय गर्ने र भाडामा बस्नेसमेत गरी तीन दर्जन परिवार प्रभावित भएका छन् । तथ्यांक संकलनको काम भइरहेकाले यो संख्या बढ्न पनि सक्ने निरौला बताउँछन् ।

प्रतिपरिवार २५ किलो चामल, दाल, नुन, तेललगायतका सामग्री नगरपालिका र पाल, कम्बल, भाँडा रेडक्रसले दिने निर्णय शनिबार बिहान बसेको विपद् व्यवस्थापन समितिले गरेको हो ।

जिल्ला समन्वय समितिका संयोजक घनेन्द्र मादेनको संयोजकत्वमा बसेको समितिले दिउँसो बैठक बसेर बास नभएकालाई आवासको व्यवस्थाका बारेमा छलफल गर्ने भएको छ ।

Back to top button