अब प्रदेश १ का तीन स्थानमा कोरोनाको पिसीआर परीक्षण

विराटनगर । प्रदेश १ का तीन स्थानमा पिसीआर परीक्षण सुरु भएको छ । यस अघि दुई स्थानमा मात्रै पिसीआर परिक्षण हुने गरेकोमा विराटनगरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पनि पिसीआर परीक्षण सुरु भएको हो ।

विराटनगरको कोशी र धरानको बीपी अस्पतालको प्रयोगशालामा पिसीआर विधिमार्फत परीक्षण भइरहेकोमा शनिबारदेखि प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पनि सुरु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यससँगै पिसिआर परीक्षणको संख्या देशभर १७ पुगेको छ । मन्त्रालयका अनुसार शनिबारसम्म देशभर ८९ जना सम्भाबित र संक्रमित आइसोलेसनमा रहेका छन् । तीमध्ये काठमाडौं उपत्यकामा ४ जना र काठमाडौंबाहिर ८५ जना छन् ।

शनिबारसम्म पनि नेपालमा कुल संक्रमितको संख्या ५९ छ । तीमध्ये ४९ जना पुरुष र १० जना महिला रहेका छन् । हालसम्म १६ जना निको भएर घर फर्किएको र अन्य ४३ जना देशभरका बिभिन्न अस्पतालमा उपचाररत रहेका मन्त्रालयले जनाएको छ ।

जसमध्ये बिराटनगरमा ३१ जना, वीरगञ्जमा ८ जना तथा रुपन्देही, धनगढी, भरतपुर र नेपालगञ्जमा एक–एक जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

Back to top button