फेसबुक र जूम एपलाई चुनौती दिदै गुगल मीट भयो नि:शुल्क

काठमाडौँ । कोरोना महामारीका बेला धेरै देशमा लकडाउन भएका कारण विश्वभर घरबाटै काम गर्नेको संख्या बढेसँगै प्रविधिको प्रयोग पनि बढेको छ ।  यस बीचमा भिडियो कन्फेरेन्स गर्न मिल्ने एप जूमको प्रयोग ह्वात्तै बढेको छ ।

जूमको लोकप्रियतालाई देखेर फेसबुकले एकै पटकमा ५० जनासम्म भिडियो कन्फेरेन्स गर्न मिल्ने घोषणा गरिसकेको छ भने अब यस दौडमा गुगल पनि आएको छ ।

गुगलले जूमलाई चुनौती दिन आफ्नो गोगल मीटलाई सबै प्रयोगकर्ताका लागि निशुल्क गरेको छ । यसअघि गुगल मीट जीसूट प्रयोगकर्ताका लागि मात्र थियो । जीसूटका अध्यक्ष जोभीयर सोलारोले गूगल मीटलाई निशुल्क गर्ने घोषणा गर्दै महामारीको बेला विश्वभरका प्रयोगकर्तालाई आफ्नो नजिक राख्न यस्तो निर्णय लिएको बताएका छन् ।

अहिले लकडाउनका बेला भिडियो कन्फेरेन्सको संख्या निकै बढेको देखिएको छ ।

गुगलले आउदो सातासम्म गुगल मीटमा सबैका लागि एक्सेस दिने बताएको छ । गुगल मीट निशुल्क भएसँगै अब यसको प्रतिष्पर्धा फेसबुकको म्यासेन्जर रुम र जूम एपसँग हुने देखिएको छ । गुगल मीटमा एकै पटक २५० जना सम्मले भिडियो कन्फेरेन्स गर्न सकिने बताइएको छ ।

कोरोनापछि सबैभन्दा बढी फाइदा जूम एपलाई भएको देखिएको छ । फोर्ब्स म्यागजिनका अनुसार अहिले जूम एपका हरेक दिन ३ सय मिलियन प्रयोगकर्ता रहेका छन् । जुन कोरोना संक्रमण अघिको भन्दा सय मिलियन बढी हो । जूमको गत बर्ष मात्र १० मिलियन प्रयोगकर्ता बढेका छन् ।

जूमको प्रयोगकर्ता बढेसँगै सुरक्षाका प्रश्न पनि उठेका छन् । ह्याकरहरुले जूमका ५ लाखभन्दा बढी प्रयोगकर्ताका निजी सूचना सार्वजनिक गरेको विषयले यसका प्रयोगकर्तालाई चिन्तित बनाएको छ । गुगलले भने प्रयोगकर्ताको सूचनाको सुरक्षाको कुनै चिन्ता नहुने भन्दै जूमको विकल्प दिन खोजेको देखिएको छ ।

Back to top button