
विराटनगर । कोरोना भाइरस (कोभिड १९)का कारण सरकारको बजेट खर्च निरासा जनक हुने अनुमान भइरहेको बेला प्रदेश १ सरकारले भने गत वर्षको भन्दा बढी रकम खर्च गर्ने भएको छ ।
गत वर्ष करिब ५९ प्रतिशत खर्च गरेको प्रदेश १ सरकारले यस वर्ष करिब ६० प्रतिशत भन्दा बढी खर्च गर्ने आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारको बजेट ४२ अर्ब छ । बैशाख १५ सम्ममा चालु र पुजिगत खर्च गरेर करिब ४० प्रतिशत रकम खर्च भएको उनले बताए । चालु आर्थिक वर्षको बजेटको अवस्था र आगामी वर्षको बजेटको प्राथमिकताका विषयमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यो वर्ष गौरवका आयोजनाहरुमा खासै प्रभाव नपर्ने र त्यसलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए ।
प्रदेश सरकारले २ करोड देखि डेढ अरब सम्मका योजनाहरु सञ्चालनमा ल्याइरहेको र त्यसबाट तत्कालै लाभ लिन सकिने भएकाले त्यस्ता योजनालाई प्राथमिकतामा राखेको राखेको चर्चा गर्दै मन्त्री आङ्बोले चालु आर्थिक वर्षको विभिन्न १२ शिर्षकका रकमहरु ख्र्च गर्न रोकिएको जानकारी दिए ।
उनका अनुसार सवारीसाधन खरिद देखि परामर्श गोष्ठि अन्तरक्रिया सम्मका रकम गरेर करिब ५ अरब खर्च गरिने अहिलेको लक्ष्य थियो । त्यो रकम यस पटक रोकिने भएको छ । उनले आगामी वर्षको बजेटको प्राथमिकता कृषि, स्वास्थ्य र शिक्षा रहेको जानकारी दिदै रोजगार सिर्जन गर्ने तर्फ पनि ध्यान दिने बताए ।
‘कृषकहरुलाई अनुदान दिने कुरामा र उत्पादकत्व बढाउने हाम्रो प्राथिमिकता हुन्छ, यसो गर्न सकियो भने आथिक बृद्धिदर हाँसिल गर्न पनि सहयोग पुग्छ,’ उनले भने ‘अबको गन्तव्यनै ग्रामिण अर्थतन्त्रको सुधार हो ।’
आगामी वर्षको बजेट र आकार कस्तो हुने भन्ने विषय एक हप्ता पछि मात्र थाहा हुने बताउँदै मन्त्री आङ्बोले स्रोत पहिचान समितिको अध्यायन, राजस्व परामर्श समितिको सुझाव साथै चालु आथिक वर्षको मौजात रकम कस्तो हुन्छ त्यसले निधारण गर्ने बताउनुभयो ।
रकम निर्धार भएपछि मन्त्रालयहरुलाई सिलिङ तोकेर बजेट तयारी गर्न निर्देशन दिने र सोहिअनुरुप बजेटका कामहरु अघि बढ्ने उनले स्पष्ठ पारे ।