
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बुधबार सचिवालय बैठक बोलाएको छ । पार्टीभित्र किचलो बढेपछि सचिवालय बैठक अनिश्चितजस्तै बनेको थियो । भोलि साँझ पाँचबजे बैठक बोलाइएको पार्टीका सचिवालय सदस्य झलनाथ खनालले भने । “भोलि साँझ बैठक बस्ने खबर आएको छ,” खनालले भने ।
मङ्गलबार दिउँसो पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कुराकानी भएको थियो । भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउन जोड दिएका थिए । हिजो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधव नेपाल समूहबीच अनौपचारिक भेटघाट छलफल हुँदा मङ्गलबार बोलाउने समझदारी भएको थियो ।
नेपाल पक्षले बैठक नै समस्याको निकास भएकाले विलम्ब नगर्न ध्यानाकर्षण गराएका थिए । ओली समूहले नेताहरूबीच समझदारी जुटेपछि मात्रै बैठक बोलाउँदा प्रभावकारी हुने निष्कर्ष निकालेका थिए । असमझदारी नै असमझदारी लिएर बैठकमा प्रवेश गर्दा त्यसले निकास नदिने ओली निकट नेताहरूको बुझाइ छ ।
अध्यादेश प्रकरणपछि नेकपाभित्र अन्तरकलह झाँगिएको छ । २० जना स्थायी कमिटी सदस्यले बैठकको माग गरेर पत्र बुझाएका छन् । सचिवालय बैठकले स्थायी कमिटी बैठकबारे निर्णय गर्ने अपेक्षा गरिएको छ ।