ताप्लेजुङमानै हुन थाल्यो लकडाउन उलङ्घन, २६ सवारी साधन नियन्त्रण

ताप्लेजुङ । ताप्लेजुङमा लकडाउन (बन्दाबन्दी) को समयमा बिनाअनुमति चलाइएका २६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिनलाई सरकारले गरेको बन्दाबन्दी उल्लङ्घन गर्ने जिप, मोटरसाइकल, ट्रयाक्टर लगायतका सवारी साधन प्रहरीले नियन्त्रण लिएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक मोहन पोख्रेलका अनुसार गत चैत ११ गतेबाट बन्दाबन्दी सुरु भए यता बन्दाबन्दीको नियम उल्लङ्घन गरी बिनाअनुमति अर्थात पास नलिई चलाइएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएकामध्ये सबैभन्दा धेरै मोटरसाइकल १७ वटा रहेको प्ररही निरीक्षक पोख्रेलले बताए । त्यसपछि चारवटा बोलेरो जिप र चारवटा ट्रयाक्टर रहेको उनले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएको दुईवटा मोटरसाइकल भने उपल्लो आदेश आएपछि सम्बन्धित सवारी धनीलाई फिर्ता दिइएको पनि प्रहरी निरीक्षक पोख्रेलले बताए । प्रहरी नियन्त्रणमा रहेका बाँकी सवारी साधनलाई बन्दाबन्दीको समय समाप्त भएपछि सम्बन्धित धनीलाई बुझाउने उनले जानकारी दिए ।

यता बन्दाबन्दीपछि जिल्लामा सुरक्षा संयन्त्र, सञ्चारकर्मीका सवारी साधन र एम्बुलेन्स मात्र बिना रोकावट सञ्चालनमा रहेका छन् । त्यस्तै निर्माण कम्पनी, खाद्यान्न, तरकारीजन्य वस्तु तथा अत्यावश्यक अन्य वस्तु ढुवानीका साधनहरु जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर सञ्चालन हुँदै आएका छन् ।

Back to top button