नेपाल छिर्ने आसामा झापाका सीमा क्षेत्रमा २ सय नेपाली

झापा १४ बैशाख । नेपालमा लकडाउन कडाई गरेर सीमाना सिल गरेपछि झापाको सीमावर्ती भारतीय क्षेत्रमा २०० भन्दा बढी नेपाली नेपाल आउने आसमा रोकिएका छन् ।

झापासँग सीमा जोडिएको भारतीय बजार गलगलिया, पानीट्याङ्की, नक्सलवाडी क्षेत्रमा २०० भन्दा बढी नेपाली रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । ‘कतिपय नेपाली भारतीय क्वारेन्टाइन, कतिपय आफन्त र कतिपय अलपत्र अवस्थामा रहेका छन्’, सभापति ढकालले भने ‘स्वदेश आउनका लागि १५० ले नाम टिपाएका छन्, अरु ५०÷६० जना रहेको जानकारी आएको छ ।’ उनीहरुलाई स्वदेशमा ल्याउन पहल भइरहेकाले पूर्वतयारी भइरहेको उनले बताए ।

उनीहरुलाई स्वदेश प्रवेशपछि बस्नका लागि भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा क्वारेन्टाइन निर्माण शुरु गरिएको छ । मेची क्याम्पसको साइन्स ब्लक र बीएससीएचआटीको भवनमा करिब २०० श्ययाको क्वारेन्टाइन बनाउन लागिएको जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए ।

एक सय श्ययाको क्वारेन्टाइन निर्माणका लागि आवश्यक सामग्री तयार रहेको सभापति ढकालले बताए । उनीहरु नेपाल आएपछि क्वारेटाइनमा राखेर कोरोना परीक्षणपछि घर जान दिइने सभापति ढकाल बताउँछन् ।

यता झापामा हालसम्म ७९४ को द्रुत परीक्षण विधिबाट कोरोना परीक्षण गरिएको छ । तीमध्ये १०८ जनाको स्वाब, आरडिटी ७६१, पिसीआर १०८, आरडिटी र पिसीआर दुवै ७५ जनाको गरिएको छ । चार जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ भने ७५७ को आरडिटी नेगेटिभ आएको छ ।

यस्तै १०० जनाको पिसीआर नेगेटिभ आएको छ भने सात जनाको पिसीआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय झापाका महामारी कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिए । झापाका १५ स्थानीय तहले २७ स्थानमा ७९२ जना क्षमताको क्वारेन्टाइन बनाएका छन् । ती क्वारेन्टाइनमा हाल २०३ रहेका छन् भने २८७ क्वारेन्टाइन अवधि पूरा गरेर घर फर्किसकेका छन् । होम क्वारेन्टाइनमा एक हजार ४६ जना रहेका छन् ।

Back to top button