
काठमाडौं । लकडाउन लगायतका विषयमा निर्णय गर्न आज मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । पछिल्लो समय तोकिएको समय भोली सकिने भएकाले सरकारले लकडाउनको स्वरूप परिवर्तन गर्ने तयारी गरेको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले एक महिने लकडाउनको समीक्षा गर्दै स्वरूप परिवर्तन गर्नेगरी प्रस्ताव तयार पारेको छ । सोही मोडालिटीको आधारमा सरकारले आज निर्णय गर्ने समितिले जानकारी दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लकडाउनको मोडालिटी तयार पार्न निर्देशन दिएका थिए । शनिबार बसेको समितिको बैठकमा विभिन्न मोडालिटीबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए । काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा कुनै हालतमा लकडाउन खुकुलो नबनाउने बरु हिमाली जिल्लामा परीक्षणका रूपमा केही खुकुलो बनाउन मन्त्रीहरूले सुझाव दिएका थिए ।
पहिलो चरणमा हिमाली जिल्ला खुकुलो बनाउने र थप सङ्क्रमित फेला नपरे क्रमशः पहाडी हुँदै सहरी क्षेत्र खुकुलो बनाउने सुझाव–प्रस्ताव हिजोको बैठकमा आएको थियो । उत्तर, दक्षिण दुवैतर्फको सीमानाका भने अनिश्चतकालसम्म बन्दै राख्नेबारे छलफल भएको बताइएको छ ।
भारतमा संक्रमण बढ्दो रूपमा रहेकाले नाका खोल्ने होइन नभई तराई क्षेत्रमा अझै कडाइ गर्ने सरकारको तयारी छ ।