ताप्लेजुङमा सकियो चामल, एक हजार क्विन्टल माग

ताप्लेजुङ । लकडाउनका कारण ह्वात्तै माग बढेपछि खाद्य संस्थानको चामल सकिएको छ । शुक्रबार दिउँसो १ बजेदेखि बिक्री वितरण बन्द गरिएको छ । अहिलेको मागलाई ध्यान दिँदै तत्काल पठाइदिन १ हजार क्विन्टल माग गरिएको खाद्य संस्थान प्रमुख तुलमाया लुंवाले बताइन् ।

जिल्ला कारागारका कैदी बन्दीका लागि २ सय ६४ क्विन्टल मात्रै गोदाममा रहेको लुंवा बताउँछिन् । लकडाउन सुरु भएपछि जिल्लाका अति दुर्गम मिक्वाखोला गाउँपालिका–५, पापुङले ९७ क्विन्टल चामल लगेको छ ।

वडाध्यक्ष डण्डु शेर्पाले आफ्नो वडामा खाद्य संकट हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयबाट सिफारिस ल्याएरै लगेका हुन् । पापुङ चीनको सीमावर्ती क्षेत्रको वडा हो । फक्ताङलुङ गाउँपालिका वडा नम्बर–६ लेलेप र वडा नम्बर–२ खेजेनिमले पनि कोटा मागेरै लगेका छन् । ‘लकडाउन सुरु भएको तीनरचार दिनसम्म पनि जति माग आउँछ, त्यति नै दियौं, एकजनाले चार बोरासम्म पनि चामल लगे,’ लुंवाले भनिन्, ‘भीड लाग्न थालेपछि एक जनालाई एक बोराका दरले दिँदा पनि चामल पुरै सिद्धियो ।’

चामलको माग बाँड्नासाथ बसेको खाद्य व्यवस्था समितिले एक हजार क्विन्टल माग गरेको हो । केन्द्रले ताप्लेजुङलाई वार्षिक एक हजार क्विन्टल दिने गरेको छ । कारागारका कैदीबन्दीका लागि थप कोटा आउँछ । कैदीबन्दीलाई समेत गरी यो वर्ष १४ सय क्विन्टल चामल बिक्री भइसकेको छ । असाररसाउन जस्तो वर्षायाम र दसैंतिहार जस्ता चाडबाट आउन बाँकी नै रहेकाले चामलको थप माग बढेको हो ।

लकडाउन लम्बिए यो अवधिमा पनि कार्यालय धाउनेको संख्या उच्च हुने भएको छ । अघिल्ला वर्षहरुमा चामलको वार्षिक कोटा २ हजार क्विन्टल थियो । तर बिक्री गर्न नसकेपछि ५० प्रतिशत कोटा काटिएको थियो । लुंवा कार्यालय प्रमुख भएर आएपछि स्थानीय सञ्चार माध्यम र जनप्रतिनिधिको प्रयोग गरेर चामलको गुणस्तरीयता र मूल्यका विषयमा प्रचार गर्न थालिन् । यसको प्रभाव गत दसैंतिहारमा पनि खाद्यान्न चामल अधिक बिक्री भएको थियो ।

अहिले खाद्य संस्थानले चामलमा १० प्रतिशत छुट दिएको लुंवा बताउँछिन् । सोना मनसुली चामल ३९ रुपैयाँ ७० पैसा र जापानी चामलको मूल्य प्रतिकिलो ४२ रुपैयाँ ३० पैसा रहेको छ । आउने चामल कहिले आउँछ पत्तो नभएको लुंवा बताउँछिन् । ‘यहाँको अवस्था, आवश्यकता लगायतका विषयमा विभागमा जानकारी गराएकी छु,’ उनले भनिन्, ‘अव व्यवस्थापन गरेर विभागले कहिलेसम्म पठाउँछ थाहा छैन ।’ कान्तिपुर दैनिकबाट

Back to top button