मुख्यमन्त्री सहित मन्त्रीको टोली कोरोना प्रभावित क्षेत्रमा

विराटनगर । प्रदेश १ कोरोनाको केन्द्र बन्दै जाँदा शनिबार मुख्यमन्त्रीसहित तीन मन्त्री कोरोना प्रभावित क्षेत्र अनुगमनका लागि निस्किएका छन् ।

नेपाली सेनाको हेलिकोप्टर मार्फत मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरे उदयपुर र भोजपुर निस्किएका हुन्। भोजपुरमा १ जना संक्रमित भेटिएका छन् भने उदयपुरको भुल्केमा २८ जना कोरोना संक्रमित भेटिएका छन् । भोजपुर मुख्यमन्त्रीको निर्वाचन क्षेत्र पनि हो ।

विहान साढे ११ बजे हेलिकोप्टर मार्फत उडेका मुख्यमन्त्री सहितको मन्त्रीको टोलिले पहिले भोजपुरको हतुवागडी पुगेर उदयपुरको मुख्य प्रभावित क्षेत्र भुल्के, उदयपुरमानै निर्माण गरिएको क्वारेन्टाइन सहितका क्षेत्रको अवलोकन गरी विराटनगर फर्कने कार्यक्रम छ ।

हतुवागडीबाट उदयपुरको बेलश्रोत, कटारी अवस्थित प्रदेश सरकारले स्थापना गरेको क्वारेन्टाइन स्थल पुगि कोरोना प्रभावित त्रिनपा ३, भुल्के पुग्ने कार्यक्रम रहेको आन्तरिम मामिला मन्त्रालयका जनसम्पर्क अधिकृत रवि खनालले बताएका छन् ।

Back to top button