विश्वमा कोरोना : १ लाख ९० हजारको मृत्यू, २७ लाख संक्रमित

काठमाडौं, १२ बैशाख । विश्वमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार नाघेको छ । वल्डोमिटरको तथ्याङ्क अनुसार शुक्रबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार ४६५ पुगेको हो ।

ज्यान गुमाउनेमा सबैभन्दा धेरै अमेरिका नागरिक छन् । अमेरिकामा ४९ हजार ७५४ ले कोरोनाका कारण ज्यान गुमाएका छन् । यस्तै इटलीमा २५ हजार ५४९, स्पेनमा २२ हजार १५७, फ्रान्समा २१ हजार ८५६ तथा बेलायतमा १८ हजार ७३८ ले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

विश्वभर हाल सम्म २७ लाख १५ हजार ६१४ मा कोरोानाको संक्रमण देखिसकेको छ । जसमध्ये अहिले १७ लाख ८० हजार १४७ को उपचार भइरहेको छ । उपचाररत मध्ये ५८ हजार ६७८ को अवस्था गम्भीर रहेको छ ।

नेपालमा भने कोरोना संक्रमणका कारण आजसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन । ४८ जनामा संक्रमण देखिएको छ । जसमध्ये ९ जना निको भएर घर फर्किसकेका छन् । उपचाररतको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Back to top button