खोटाङकी युवतीको कोरोनाबाट बेलायतमा मृत्यु

खोटाङ । कोरोनाको संक्रमणबाट बेलायतमा रहेकी खोटाङकी एक महिलाले ज्यान गुमाएकी छन् । खोटाङको ऐसेलुखर्क गाउँपालिका १ पुर्ख्यौली घर भई बेलायतको ननिटनमा रहँदै आएकी ३२ वर्षीय बीमा नाछिरिङ राईको म‌ंगलबार मृत्यु भएको हो ।

उनको जर्ज इलिट अस्पतालमा मृत्यु भएको स्थानीय ब्रिट्रिश गोरखा भेट्रान्स एसोसिएसन युकेका महासचिव भीम सारु मगरले जानकारी दिएको बेलायतमा रहेका नेपालीहरुले सञ्चालन गरेको वीनेपाली डटकमले जनाएको छ ।

मृतक पूर्व गोरखा सैनिक डाकबहादुर राई र श्रीमती देशी राईकी माइली छोरी हुन्। उनी गत वर्ष मात्र बेलायत पुगेकी थिइन् । उनको मिर्गौलामा समस्या देखिएपछि एक साताअघि अस्पताल भर्ना गर्दा कोरोना पुष्टि भएको थियो ।

उनी अहिलेसम्ममा युकेमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीहरुमा सबैभन्दा कम उमेरका नेपाली हुन् । राईको निधनप्रति ब्रिटिश गोरखा भेट्रान्स एसोसिएसन युकेले श्रद्धान्जलि व्यक्त गरेको छ ।

Back to top button