उदयपुरको नुरी मस्जिदका सबै १६ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केस्थित नुरी मस्जिदमा बस्ने सबै १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसअघिको परीक्षणमा कोरोना नदेखिएपछि मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएका तीन जनामा पनि बुधबार कोरोना पुष्टि भएको हो।

सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब परीक्षणको क्रममा बुधबार भारतका २४ वर्षीय नागरिक तथा विराटनगर १७ का ६० वर्ष र ७२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो। संक्रमित पहिचान भएकालाई विराटनगर अस्पतालमा ल्याउने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि गत शुक्रबार सो मस्जिलमा बस्दै आएका १ नेपाली र ११ भारतीयमा कोरोना पुष्टि भएको थियो। मस्जिदमा ४ नेपाली र १२ भारतीय बस्दै आएकोमा सो दिन ४ जनामा कोरोना नदेखिएपछि टाँडी स्थित क्वारेन्टाइनमा लगिएको थियो।

उनीहरुको थप परीक्षण गर्दा शनिबार अर्का व्यक्तिमा कोरोना देखिएपछि अस्पतालमा भर्ना गरिएको छ। क्वारेन्टाइनमा बसेकाहरुको अर्को पटक परीक्षण गर्दा बुधबार सबैमा कोरोना पुष्टि भएको हो। मस्जिदमा बस्ने चार नेपाली विराटनगर १७ घर भएका हुन्। उनीहरु सबै संक्रमित भएका छन्।

भुल्केको मस्जिदका १२ जनामा कोरोना देखिएपछि बस्तीमा गरिएको परीक्षणमा मंगलबार थप ११ जनामा संक्रमण देखिएको थियो। योसँगै उदयपुरमा संक्रमितको संख्या २७ पुगेको छ।

Back to top button